राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्नुस् : अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् ।
बिहीबार अमेरिका भ्रमण जानुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरूले राम्रो गरेर देखाउन नसकेको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले चाडपर्व सकिएसँगै जनदबाबका कार्यक्रमहरू अघि सार्ने बताए । उनले जनआन्दोलनका लागि पार्टीले तयारीलाई तीव्र बनाएको बताए ।
उनले भने ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यही आन्दोलनको पूर्वाधार निर्माण गर्ने क्रममा छ । प्रवासमा पनि भ्रमण तीव्र बनाइरहेका छौँ । जनआन्दोलन, जनदबाब सिर्जना गर्ने कार्यक्रम गरिरहेका छौँ । तयारी तीव्र रूपमा चलिरहेको छ । दसैँ, तिहार र छठ सकिनासाथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर जनदबाबका कार्यक्रम तय गर्नेछ । देशको अहिलेको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्ने राजालाई गाली गर्नुको बदला अहिलेको परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरूले राम्रो गरेर देखाउनुपर्छ, राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छ भन्ने दिन गयो ।’
अध्यक्ष लिङदेनले दसैँ, तिहार र छठ सकिनासाथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर जनदबाबका कार्यक्रम तय हुने बताए ।








