गैर आवासीय नेपाली संघ विवाद साइबर क्राइमसम्म पुग्यो, निर्वाचनलाई मान्यता नदिन परराष्ट्रको परिपत्र

काठमाडौँ । गैर आवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ ।
कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भएपनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले बताएको छ ।
महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्ट्रेलियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए ।
अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरेपनि अहिले प्रमाणित भएको बताए । उनले यस नतिजाले ८० लाख गैर आवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको बताए । उनले उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शून्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने बताए ।
उनले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको बताए । उनले परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगित गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उल्लेख गरे ।
त्यस्तै निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताए । उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शून्य हुनु समस्याको जड रहेको बताए । उनले शून्य हुनु नहुनुपर्ने भएपनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटि भएको हुनसक्ने बताए ।
उनले भेरो आएर यथार्थलाई भनिदिनुपर्ने बताए । उनले पुनः गणना गर्नुपरे पनि आफूहरू तयार रहेको बताए ।








