देशलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिको सरकार बनाऔँ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।
बुधवार नेकपा (माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दसैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् ।
उनले पार्टीहरूका बिचमा प्रतिस्पर्धामा चुनाव गर्नुपर्ने र चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । उनले सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको बताए ।
दलहरूका बिचमा आपसी गालीगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्ने बताए । सहमतिको सरकार बनाउन सकेमा मात्रै ठूलो परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उनको भनाई छ ।
उनले भने ‘पार्टीहरूको बीचमा प्रतिस्पर्धाको चुनाव हुन्छ । पूर्ण समानुपातिक भयो भने झन् राम्रो भयो । त्यो चुनावबाट आइसकेपछि आज देशलाई राष्ट्रिय सहमतिको खाँचो छ । राष्ट्रिय सहमति गरेर जानुपर्छ । यदि राष्ट्रिय सहमति गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्नेरु कति महिना चल्ने रु भन्ने प्रश्न । दुई वर्ष एउटालाई भाग । एक वर्ष एउटालाई भाग । दुई वर्ष अर्कालाई भाग । भाग लाउँदा लाउँदै सरकारको पनि गति नआउने । प्रतिपक्ष र सत्तापक्षले एकले अर्कोलाई सत्तोसराप गाली गर्ने । एकले अर्कालाई दमन गर्ने, एकले अर्कालाई गाली गर्ने कुरा भएको छ । यो कुराको अन्त्य गरेर राष्ट्रिय सहमतिका आधारमा मन्त्रिमण्डल बनाउने । राष्ट्रिय सहमतिमा मन्त्रिमण्डल बनाएर सबै पार्टीलाई समेट्ने । सबै पार्टीहरूलाई समेटेर सरकारमा रहेका मन्त्रिहर्को बीचमा प्रतिस्पर्धा । भ्रष्टाचारका विरुद्धमा को अब्बल हुने भन्ने प्रतिस्पर्धा । रोजगारी सृष्टि गर्नेमा सबभन्दा अघि को बन्ने भन्ने प्रतिस्पर्धा । उत्पादन वृद्धिमा को अगाडी बढ्ने भन्ने प्रतिस्पर्धा । गुणस्तरीय काम कसले गर्ने, जनतालाई सेवा प्रवाह कसले राम्रो गर्ने भन्ने प्रतिस्पर्धा गरेर सरकार सञ्चालन गरेर १० वर्षलाई हामी यसरी जान सक्यौँ भने हाम्रो देश समृद्ध हुन्छ । सहमति नगरी हुँदैन । सहमति गरेर मात्रै ठूलो ठूलो परियोजना बनाउन सक्छौँ । त्यसो गरे देशलाई समृद्ध गर्न सक्छौँ र जनताको असन्तुष्टिलाई पनि सम्बोधन गर्न सक्छौँ ।’
उपमहासचिव शर्माले माओवादी केन्द्र आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने बताए । उनले माओवादी केन्द्र एक्लै चुनाव लड्ने स्पष्ट पारे । उनले पार्टीलाई एक्लै प्रतिस्पर्धा गर्ने हैसियतमा पुर्याइने पनि बताए ।
उनले भने ‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन । हामी एक्लै लड्छौँ । एक्लै प्रतिस्पर्धा गर्छौ र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ । कसैसँग मिल्दैनौँ । यो प्रतिबद्धता हो । सङ्कल्प हो । यो कुरालाई म स्पष्ट गर्न चाहन्छु ।’
उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए । उनले स्थानीय सरकारलाई पनि साधन, स्रोत थप गरेर अझै बलियो बनाउनुपर्ने बताए ।
उनले भने ‘प्रदेशले काम गर्न सकेन भनिएको छ । प्रदेशले काम गर्न नसकेको होइन । प्रदेशलाई काम गर्न नदिइएको हो । प्रदेशलाई दिनुपर्ने जनशक्ति दिएको छैन । प्रदेशलाई दिने अधिकार दिइएको छैन । प्रदेशलाई दिने सुरक्षा निकाय दिइएको छैन । अनि कसरी प्रदेशले काम गर्छ त रु नामले मात्रै काम गर्ने होइन । त्यसकारणले छिटोभन्दा छिटो अधिकार हस्तान्तरण गर्नुपर्छ । सरकारले, पार्टीहरूले अधिकार तल हस्तान्तरण गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ । स्थानीय सरकारलाई थप साधन, स्रोतसहित अझ बलियो बनाउनुपर्छ । यसलाई मजबुद बनाउने हो ।’
उपमहासचिव शर्माले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ५ सदस्यीय मात्र मन्त्रिमण्डल बनाउनुपर्ने बताए । प्रदेश सरकारका मातहतका संरचनाहरूलाई पनि कम गर्नुपर्नेमा उनले जोड दिए ।








