गैर आवासीय नेपालीहरूलाई राष्ट्रपतिको आग्रह : अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउनु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन् ।
मंगलवार गैर आवासीय नेपाली संघको ११ औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूको प्रतिष्ठा बढाउन आग्रह गरेका हुन् ।
उनले नेपालको आन्तरिक क्षमता वृद्धि गरी तीव्र आर्थिक विकास गर्नसके मात्रै विदेशमा बस्ने नेपालीको शिर उचो हुने बताए । उनले देश विकसित भए मात्रै विदेशमा बस्ने नेपालीको शिर उचो हुने उल्लेख गर्दै नेपाल समृद्ध नभएसम्म नेपालीहरूको प्रतिष्ठा बढ्न नसक्ने बताए ।
उनले नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान गैर आवासीय नेपालीहरूको रणनीतिक भूमिका र दायित्व हुने बताए ।
उनले भने ‘म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उचो हुनेछ । हाम्रो देश विकसित भए मात्रै तपाईँहरू सबैको जुन देशमा रहे पनि शिर उचो हुनेछ । नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्दैन । नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईँहरूको रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ ।’
राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेकाले त्यसतर्फ लगानी भित्राउनुपर्ने बताए । उनले नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगीकरण र आन्तरिक उत्पादन लगायतको विकासमा केन्द्रित भएको पनि बताए ।
उनले आगामी दिनमा पनि गैर आवासीय नेपालीहरूले नेपालको विकास र समृद्धिका लागि लगानी गर्नुपर्नेमा जोड दिए ।
उनले भने ‘हामी सबैलाई थाहा भएकै कुरा हो कि एकातर्फ नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा लगानीको ठुलो सम्भावना छ । भर्खरै मित्रराष्ट्रहरूसँग सहमति भइराखेका छन्, त्यसले गर्दा हाम्रो ऊर्जा शक्तिको धेरै ठूलो सम्भावना हाम्रो राष्ट्रलाई धनी राष्ट्र बनाउनमा धेरै ठूलो सम्भावना देखा परेको छ । विश्वकै ठूलो जनसङ्ख्या र वृहत् बजारहरू हाम्रा छिमेकमा छन् । हामीले हाम्रो विभिन्न क्षेत्रमा ठुलो लगानीको सम्भावना छ । त्यो लगानीलाई हामीले आमन्त्रण गर्नुपर्ने छ । यस बिच नेपालको आन्तरिक उपभोगका साथै क्रय शक्ति समेत दिनानुदिन बढी रहेको छ । यस्तो अवस्थामा नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगीकरण र आन्तरिक उत्पादन लगायतको विकासमा केन्द्रित भएको छ । यसका लागि उद्यमशीलता सान्दर्भिक तथा उपयोगी साबित हुनसक्छ । विगतमा तपाईँहरूले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र सङ्गठित रूपमा गर्दै आउनुभएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगी बनेको छ ।’
राष्ट्रपति पौडेलले आफ्ना सन्तानहरूलाई नेपाली भाषा र संस्कृति सिकाउन पनि गैर आवासीय नेपालीहरूलाई आग्रह गरे । उनीहरूलाई नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्नुपर्ने उनको भनाई छ ।
उनले भने ‘नेपाल बाहिर रहेर जीवनयापन गर्दै गर्दा आफ्ना सन्तानहरूको आफ्नो भाषा, संस्कृति भुल्ने सम्भावना रहने हुँदा त्यसप्रति तपाईँहरू सचेत हुनुपर्छ । नेपाल प्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने यहाँको संस्कृति, सामाजिक परिवेश परिचित गराउनु होला ।’
उनले देश प्राकृतिक स्रोत, साधन र जैविक विविधताले सम्पन्न रहेको उल्लेख गर्दै यसको उपयोगका साथै संरक्षण, संवर्द्धन र प्रचार–प्रसारमा पनि जोड दिनुपर्ने बताए ।








