जब ‘झोडा’को विषयमा लिखित वा भिडियो दस्ताबेज भेटिएनन्, उनको लागि जिउँदो मानिसहरू दस्ताबेज बने

पहिलो पटक नाटक गर्ने अवसर पाउँदा चेतन आङ्थुपो १७ वर्षका थिए ।  इलाममा जन्मेका उनी गाउँमा दाइहरूसँग नाटक हेर्न जाने गर्थे । तर आफैँले नाटक गर्न सक्छु भनेर सोचेका थिएनन् । विद्यालयमा कहिलेकाहीँ नृत्य भने गर्ने गर्थे ।

एक दिन अचानक परीक्षा दिएर फर्कँदै गर्दा गाउँकै दाइले नाटक खेल्ने हो भनेर सोधे । उनले पनि नकार्न सकेनन् । त्यति बेला उनलाई नाटक बारे खासै ज्ञान थिएन । नाटक प्रतिको लगावलाई पनि ठम्याइसकेका थिएनन् । 

सुरुवातका दिनहरूमा अलि असहज महसुस हुन्थ्यो । बिहान रिहर्सल गर्न जानुपर्ने हुन्थ्यो । केही दिनमा सहज हुँदै गयो एक दिन दुई दिन हुँदै बिस्तारै नाटकसँगको निकटता पनि गहिरिँदै गयो ।

एकदमै लामो दृश्य हुनेभएकोले गर्न गाह्रो पर्‍यो । पढाइको चाप पनि उत्तिकै थियो । त्यो नाटक सकेर केही समय विश्राम लिए । तर नाटकको रहर भने उनमा पसिसकेको थियो । 

नाटक तर्फको आधिकारिक यात्रा भने २०६५ सालबाट सुरु भयो । इलामको चुलाचुलीमा स्थापना भएको ‘चुलाचुली रङ्गमञ्चले’ २०६५ सालदेखि सक्रिय रङ्गमञ्चको रूपमा काम गर्न थाल्यो । आङ्थुपो पनि सोही  रङ्गमञ्चसँग आबद्ध रहेर नाटकहरूमा काम गर्न थाले । विशेषतः गाउँको कथामा आधारित रहेर समाजमा भएका विभेद संस्कृति र समाजको मुद्दाहरूलाई नाटकको स्वरूप दिन थाले ।

उनलाई लाग्न थाल्यो ‘नाटक भन्न छोडिएको वा बेवास्ता गरिएको कथाहरूलाई दर्शकसामु पुर्‍याउने कलाको बलियो माध्यम हो ।’ 

त्यही विश्वासको आधारमा वि.स. २०६५ साल देखि सुरु भएको यात्रामा उनले कयौँ पिछडिएका कथाहरूलाई दर्शक सामु पुर्‍याइसकेका छन् ।

पछिल्लो समय भने आङ्थुपो चुलाचुली रङ्गमञ्चले आयोजना गरेको पाठशाला उत्सवमा व्यस्त थिए । गत फागुनमा सोही नाटक महोत्सवको क्रममा उनले पूर्वको दमकमा धिमाल जातिलाई प्रथम नागरिक घोषणा गरेको समाचार सुने । उनलाई पहिलेदेखि धिमाल जातिको संस्कृतिलाई आफ्नो काम मार्फत  देखाउनु थियो | आङ्थुपोको बाल्यकालको अधिकांश समय धिमाल समुदायमै बितेको थियो । उनी धिमाल सँगै हुर्केका थिए । धिमालहरूको सङ्घर्ष, उनीहरूको अवस्थालाई नजिकबाट देखेका थिए ।

धिमालको इतिहास, संस्कृति बुझ्न भनेर उनी दुई तीन महिना खटिए तर सफल भएनन् । धिमाल समुदाय निष्क्रिय भएकोले उनले धिमालको कथालाई नाटकमा देखाउन सकेनन् । 

त्यसपछि भने झोडाको कथा समेट्ने सोचे । झोडा अर्थात् सुदूर पूर्वको घना जङ्गल जहाँ आदिवासीहरू बसोबास गर्दै आएका छन् । धिमाल समुदाय पनि झोडा मै बसोबास गर्दै आएकोले झोडाको कथा समेट्दा धिमाल पनि अटाउने भए ।  विडम्बना, उनले खोज्दै जाँदा झोडाको विषयमा लेखिएको कुनै लिखित वा भिडियो दस्ताबेज भेटेनन् । उनको लागि जिउँदो मानिसहरू दस्ताबेज बने । उनले हुर्कँदै गर्दा देखेको धिमालहरूको अवस्थामा केही सुधार देखेनन् । उनीहरूको आर्थिक अवस्था आज पनि  उत्तिकै दयनीय पाए ।

‘झोडा’लाई उपन्यासकार गणेश रसिकको उपन्यास ‘आकाशगङ्गाको ओतमुनी’ को आधार बनाएर तयार पारे ।  नाटक असोज २६ गते देखि ३० गते सम्म दमकको किराँत भवनमा मञ्चन हुने भयो । 

‘नाटकले मुख्यतया जग्गा आवास, राजनीतिक स्वामित्व र झोडा मा आदिमकाल देखी बस्दै आएका आदिवासीको अधिकार प्राप्तिको सङ्घर्षलाई देखाएको छ । त्यसै गरी नाटकले पूर्वमा बसोबास गर्दै आएका आदिवासी, जनजातिहरूलाई विस्थापित गर्ने भूमि रणनीतिलाई दर्साएको छ ।’ उनी भन्छन् । 

आङ्थुपोले उपन्यासकार रसिकसँग विगतका केही वर्षदेखि सहकार्य गर्दै आएका थिए । २०७२को भूकम्प पश्चात् सामाजिक कार्यहरूमा भएको भेटले नाटकसम्मको रूप पायो । रसिकको उपन्यासले झोडाकै कथावस्तु समेटेकोले रसिकले निर्देशकलाई पढ्न सुझाव दिएका थिए । आङ्थुपोले नाटकको कथावस्तु खोज्ने क्रममा अन्य केही किताब पनि पढे भीम सुब्बाको ‘रातो भूमि’ पढे तर मुख्यतया भने झोडा मै अवस्थित जिउँदा मानिसको भोगाइलाई समेटेर नाटकको स्क्रिप्ट तयार पारे । 

स्क्रिप्ट तयार पार्न करिब डेढ दुई महिनाको समय लाग्यो ।

समाजको कथा भन्न रुचाउने आङ्थुपोलाई मान्छेहरूको वर्षौँदेखि बस्दै आएका भूमि प्राप्तिको सङ्घर्षले छोयो | उनले झोडा मात्र नभएर अन्य  ठाउँमा पनि मानिसले सोही भोगेको देखेका थिए । काठमाडौँ जस्तो देशको राजधानीमा पनि सुकुम्वासीहरूको भूमिको लागि सङ्घर्ष र उनीहरूमाथि भएको दमनले चिन्तित देखिन्थे।

त्यसमाथि नयाँ पुस्ता अझ बालबालिकाहरूको मनोविज्ञानमा त्यसले अझै गहिरो छाप छोडेको थियो । धिमाल समुदायसँगको आत्मीयताले उनलाई कथा भन्न प्रेरित गर्‍यो।

यो नाटक आङ्थुपोको पाँचौँ निर्देशन हो । योभन्दा अगाडि उनी ‘रिठ्ठु’ नाटक सकाएर बसेका थिए । २०७४-२०७५ मा काठमाडौँको मण्डला थिएटरले गरेको ‘योङ्ग डिरेक्टर वर्कशप’ मा उनी सहभागी भएका थिए । त्यसपछि लकडाउनको समयमा  ‘रिठ्ठु’ निर्देशन गरेका थिए ।  

ब्ल्याक बक्स भित्र गरिएको भने उनको यो पहिलो नाटक हो । त्यसैले यस पटक उनी नाटक व्यावसायिक ढङ्गले प्रदर्शन गर्न चाहन्छन् । आङ्थुपो भन्छन्,  काठमाडौँ बाहिर नाटक व्यावसायिक ढङ्गले प्रदर्शन हुँदैन । कुनै व्यवस्थित थिएटर छैनन् भन्दा पनि हुन्छ ।’ आङ्थुपो नाटकलाई व्यवस्थित ढङ्गले मञ्चन गर्न खोज्दा अझै नाटकको  चुनौती बढेको बताउँछन् ।

उनले किराँत भवनलाई नै थिएटरको स्वरूप दिन खोजेका छन् । सामान्यतया नाटक देखाउँदा सामुदायिक भवनहरूको प्रयोग हुन्छ। दर्शकहरूलाई बस्नलाई प्लास्टिकको कुर्सीहरू राखिन्छ तर यस पटक भने उनले बाँसको अस्थायी सेटिङहरू बनाएर दर्शकलाई थिएटरको  अनुभव दिन चाहन्छन् । नाटकलाई व्यवस्थित ढङ्गले देखाउन नसक्दा पनि दर्शक उल्लास र उमङ्ग भने उत्तिकै रहेको बताउँछन् ।

सुरुवातमा उनी यो नाटकलाई काठमाडौँमा गर्न चाहन्थे तर समय मिलेन । काठमाडौँमा थिएटर उपलब्ध नहुनाले नाटक गर्न पाएनन् । कलाकारहरू छान्ने प्रक्रिया पनि काठमाडौँबाट सुरु भएको थियो । ती कलाकारहरूले पछि निरन्तरता दिन नसकेकाले फेरी नयाँ कलाकार छान्नुपर्ने भयो । कथा बस्तुलाई बुझेको र न्याय दिन सक्ने कलाकार छान्न केही समय लिए ।

उनले नाटक डिजाइन गर्दा नै कलाकारहरू सोचिसकेका थिए । उनलाई कथावस्तुसँग सुहाउँदो ३६-५०उमेर समूहको लाहुरे चाहिने थियो । अन्ततः कलाकारहरू पनि छानिए ।

नाटकमा कलाकारहरू मनकुमार योङ्गहाङ, रमिला राई, मिना नेम्बाङ, मनिक शंकर, प्रवीण भण्डारी, युगल लिम्बु, दीपक खरेल,बन्वो लामा,चेतना आचार्य, मनिस मगर , बविना राई, विपिसा राई, प्रिन्स तामाङले अभिनय गरेका छन् ।

करिब ४०जनाको टिम मिलेर बनेको नाटकको रिहर्सल भदौ १७गते देखि सुरु भएको हो । नाटकको रूपान्तरण सुमन लिङ्देनले गरेका हुन भने निर्माता सुरेश सम्पाहाङ राई हुन । चुलाचुली रङ्गमञ्चले बनाउँदै आएको नाटकमा निर्माता राई पहिलो पटक जोडिएका हुन् ।

थाहै नपाई नाटकको दुनियाँमा होमिएका आङ्थुपोलाई  आजभोलि नाटकले बाँच्ने ऊर्जा दिन्छ । नाटक गर्दै गर्दा आफूलाई हरेक तनावबाट मुक्त हुने बताउँछन् । उनी आफ्नो कलाको माध्यमबाट नयाँ पुस्तालाई समाज बुझाउन चाहन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *