मदन पुरस्कार विवेक ओझा र जगदम्बा श्री पुरस्कार टेकबीर मुखियालाई, दुवै पुरस्कारको राशि ४–४ लाख रुपैयाँ

काठमाडौँ । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ ।

ललितपुरमा एक कार्यक्रमकाबीच आज सोमवार वि.सं २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई पुरस्कार अर्पण गरिएको हो ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले ऐँठनका लेखक विवेक ओझा र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरेका हुन् । मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ ।

यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कार ऐठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो । ऐँठन कृति माओवादी आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तुमाथि केन्द्रित छ । उहाँले ऊर्जाशील उमेर लेखन क्षेत्रमा बिताएको स्मरण गरे ।

ओझाले भने ‘मदन पुरस्कार पाएको खबर पाएँ । नजिकै बसेकी श्रीमतीलाई सुनाए । नातिसँग खेलिरहनुभएकी मेरी आमालाई सुनाएँ । तुरुन्तै भिडियो कल गरेँ । मेरो भाइलाई सुनाए । भाइ खबर सुनेर रोयो । आमा रुनुभयो । पुष्पा रोइन । थाह नपाई ती आँसुले मेरा आँसुलाई समेत जागृत गराए । र, बुवालाई खबर सुनाउन सकिन । उहाँ त झनै पो भावुक हुनुहुन्छ । पक्कै पनि ती सामान्य आँसु थिएनन् । यस्तो लाग्यो वर्षौँसम्म पर्खिएर खस्नका लागि पालो कुरिरहेका आँसु हुन् । कुनै कुनै आँसु गहमा आफ्नो पालो कुरेर बसिरहेका हुँदा रहेछन् । स्कुल नचिन्दै बुवासँगका लोककथा रित्तिए । अझ तरकारी, खेत, हलो–कुटो र अगेनाका समेत गन्तव्यहीन संवाद बुवाले सुनाउन पर्यो । सुत्नुअघि कथा सुन्ने बानी जो थियो । मलाई कताकता लाग्छ, तिनै नाम–बेनाम कथाहरूले म मा आख्यानको बीज रोपेका थिए । स्कुल पढ्दै गर्दा ठूलो दाइको सिको गर्दै रहरै रहरमा लेखनको बामे सुरु भयो । र, त्यो यात्रा खतरनाक नशामा परिणत भैसकेको रहेछ । यस अर्थमा खतरनाक नशा कि, मैले ऊर्जामय उमेरको उच्चतम समयमा समेत पारिवारिक जिम्मेवारीबाट भागेँ, अभाव स्वीकार्य साथी मान्न रुचाएँ । समाजको आर्थिक प्रश्नहरूसँग लुक्नु परिरह्यो । ठिक नशामा फसेको मानिस जस्तो । त्यस्तो प्रतिकुल समयमा जो धैर्यता, साहस र प्रेम मेरी श्रीमतीले देखाइन्, त्यसप्रति म नतमस्तक छु । निःशब्द हुन पुग्छु ।’

उनले आफूले पुरस्कार पाएपछि परिवारमा हर्षको आँसु आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *