यमप्रसाद अधिकारी प्रधानसेनापति बन्दैनन् : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारेका हुन् ।

  • यस्तो थियो उनको वक्तव्य :-

‘अहिले केही सञ्चारमाध्यमबाट गजबको विषय, गलत सूचनामा आधारित झुटो सूचनामा आधारित ठुलो भ्रम सिर्जना गर्ने काम भइरहेको छ । नेपाली सेनाको भावी प्रधानसेनापति बन्ने सन्दर्भलाई जोडेर । गलत सूचनालाई सञ्चारमाध्यममा प्रकाशित गर्दा त्यसले संस्थामा पार्ने नकारात्मक प्रभाव, संस्थाका बारेमा भ्रम र अन्योल हुन्छ । नेपाली सेनाको एक जना सहायक रथीको बढुवाको सन्दर्भ जोडेर, म्याद थपको सन्दर्भ जोडेर ठुलो छलफलको विषय बन्यो । त्यसलाई स्पष्ट पार्दा पनि केही दिनदेखि भावी सेनापतिको निर्माण सन्दर्भलाई जोडेर पनि समाचार आएको छ ।’ सहायक रथी यमप्रसाद अधिकारी १० वर्षअघि युद्धमा भएको मुलुकलाई शान्तिमा रुपान्तरण गर्ने दलहरूको सहमतिबाट तत्कालीन माओवादीका लडाकुहरूलाई नेपाली सेनामा केही सङ्ख्यामा समायोजन गर्ने सहमति अनुसार तोकिएको मापदण्ड, भएको सहमति, नेपाली सेनाको परम्परा, संस्थागत स्थिति, सम्बन्धित ऐन, नियमलाई प्रतिकुल असर नपर्ने गरी समायोजनको बन्दोबस्त गरिएको उनको भनाई छ । ‘त्यही क्रममा यमप्रसाद अधिकारी २०७६ सालको सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको थियो । सहायक रथीको पदावधि सात वर्षको हुन्छ । नेपाली सेनाको नियम प्रक्रिया अनुसार चार वर्ष पुग्दा हामी सरकारमा गयौँ । उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था छ । त्यसका लागि सेनाको एउटा बोर्ड छ । त्यो बोर्डले सम्बन्धित अधिकृतको आफ्नो कार्यकालको भुमिका प्रभावकारिताको मूल्याङ्कन गरी बढुवाको लागि सिफारिस गर्छ । प्रधानसेनापतिले त्यो सिफारिसको आधारमा रक्षा मन्त्रालयमा सिफारिस पठाउनु हुन्छ, रक्षा मन्त्रालयले अध्ययन गर्छ, त्यसपछि मन्त्रीपरिषद्मा गएर एक पटकलाई पदावधि थपिने प्रचलन अनुसार यमप्रसाद अधिकारीको पनि अहिले तीन वर्षको लागि म्याद थप गरेको हो । अहिले सेनाको नियमावली चलाएर केके गरेर यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्ने केही सञ्चारमाध्यमले समाचार बनाए पनि नियमावलीमा यताउति गरेर केही गर्न खोजिँदैछ भन्ने छ । यी सबैकुरा मिथ्या हुन्, झुटो हो । नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड छ । सैनिक नियमका आधार भन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना पनि गर्न सक्दिन । त्यसैले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो । झुटो हो, सबै सूचना गलत सूचनाको आधारमा केही सञ्चारमाध्यमले गलत सूचनामा समाचार बनाएर एउटा स्थापित संस्थालाई हामीले गलत सूचनाबाट र त्यसै आधारमा फेसबुक भरिएका छन् ।’

उपप्रधान एवं रक्षामन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रूपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानुन, योजना बनाउँदै अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =