कोशी घटना बारे विश्वप्रकाशको टिप्पणी –सधैं यही गठबन्धन बोकिराख्नुपर्ने जरूरी छैन तर, संस्थागत निर्णय गरौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता आवश्यक रहेको बताएका छन्।

कोशीमा विकसित राजनीतिक घटनाक्रमबारे आइतबार सार्वजनिक रूपमा धारणा राखेका शर्माले गणितीय जटिलता र पहिचान आन्दोलन सम्बोधन गर्न दुवै महामन्त्रीले एमालेसहित गठबन्धन गर्न पहिले नै प्रस्ताव गरेको उल्लेख गरेका छन्।

‘कोशी घटनालाई `डढेलो´ बन्न नदिन संयम र परिपक्वता राखौं। गणितीय जटिलता अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृस्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो- कोशीमा एमालेसहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर,’ शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनले पार्टीको संस्थागत निर्णय भने सबैले मान्नुपर्ने बताएका छन्।

‘कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन संसद विघटनविरुद्ध बनेर गत चुनावबाट अनुमोदित भएको हो l कांग्रेसको संस्थागत निर्णय पनि यहि होl पुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं तर पार्टीको संस्थागत निर्णय मान्यौं,’ उनले भनेका छन्l

यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरिनुपर्ने पनि उनको भनाइ छ।

‘सधै यही गठबन्धन यो बोकिरहनुपर्छ, जरुरी छैन। तर संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्नl सल्लाहले `डिभोर्स´ गर्न मिल्छ तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न,’ उनले भनेका छन्, ‘पुस १० पनि नबिसौं। माओवादीको यक्ष प्रश्न- कोशिमा एमाले नेतृत्वको सरकार छोड्यौं, सभामुख छोड्यौं, कांग्रेसलाई दुइपटक `ब्ल्याङ चेक´ दियौं l तेस्रोपटकमा हामीले किन नपाउने? कांग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनु पर्ने? यो गठबन्धन दलहरुको कि गुटहरुको?’

उनले प्रदेशमा आलोपालो सरकार बनाउने सहमति भएको पनि बताएका छन्।

शर्माको वक्तव्य : 

‘कोशी घटना’लाई ‘डढेलो’ बन्न नदिन संयम र परिपक्वता राखौं ।

‘गणितीय जटिलता’ अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो– ‘कोशीमा एमालेसहितको समाधान खोजौं । तर, मौजुदा गठबन्धन कायमै राखेर’ ।

कांग्रेस, माओवादी र ‘एस’को गठबन्धन संसद विघटनविरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो । कांग्रेसको संस्थागत निर्णय पनि यही हो । पुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं । तर, पार्टीको संस्थागत निर्णय मान्यौं ।

यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं । सधैं यो बोकिरहनुपर्छ, जरुरी छैन । तर, संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न ।

सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ । तर, घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न । ‘पुस १०’ पनि नबिर्षौं ।

माओवादीको यक्ष प्रश्न- कोशीमा एमाले नेतृत्वको सरकार छोड्यौं, सभामुख छोड्यौं, कांग्रेसलाई दुई पटक ‘ब्ल्याङ चेक’ दियौं । तेस्रो पटकमा हामीले किन नपाउने ?

कांग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनुपर्ने ? यो गठबन्धन दलहरुको कि गुटहरुको ?

कोशी ढुक्कै कांग्रेसको भागमा, कर्णाली माओवादीको या मधेस पूरै जसपाको भन्ने कुनै सहमति भएको छैन । सबै प्रदेशमा आलोपालो हुने हो । परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छ ।

गठबन्धन कि गर्नुहुन्न, गरेपछि राम्रो नराम्रो सबै ब्यहोर्नुपर्छ । एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ ।

सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो । गणित नै त्यस्तो छ- एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन । यस्तो बेला नेतृत्वले निरन्तर संवादमार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ ।

अनि जरुरी छ गम्भीर आत्मसमीक्षा !

व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो, न ‘फरक विचार समूहको नेता’ले आफ्नै समूहभित्र ‘साझा मत’ खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न ।

जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् । हामी बदलिन तयार छौं । पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =