न्यायपालिका सुधारोन्मुख भइरहेको छ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारोन्मुख भइरहेको बताएका छन् ।

छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्र बिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भईरहेको उनको दाबी थियो ।

आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सामूहिक प्रतिबद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ सङ्कल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट सङ्केतहरू समेत देखा पर्न थालेको उल्लेख गर्दै त्यस कार्यमा संलग्न सबै पक्षप्रति आभार व्यक्त गरे ।

उनले २ वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरू क्रियाशील रहेको समेत बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले भने ‘नेपालको र्संविधानले प्रत्याभूति गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै छिटो, छरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहमार्फत न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न यस नवनिर्मित भवनबाट हुने न्याय सम्पादन र कामवाहीले थप योगदान पुग्नेछ भन्ने मेरो अपेक्षा छ । साथै मानव अधिकार तथा संविधान प्रदत्त नागरिकका मौलिक हक अधिकारहरूको संरक्षण प्रत्याभूतिमा समेत थप प्रभावकारिता आउने विश्वास व्यक्त गरेको छु । यस भवनमा न्यायको दियो सदैव प्रज्वलित भइरहोस् र यस भवनबाट हुने कार्य सम्पादनले न्याय, सुशासन र जनआस्था अभिवृद्धिमा नयाँ उचाइ कायम गर्न सकोस् भन्ने कामना समेत गर्दछु । यहाँहरूलाई थाहा छ–अहिले न्यायपालिका स्वाभाविक लयमा हिँड्न थालेको छ । र, सुधारको मार्गमा उन्मुख भईरहेको छ । छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जन आस्था अभिवृद्धिलाई केन्द्र विन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर छ । सामूहिक प्रतिबद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ सङ्कल्प, र मेहनतले सुधारका स्पष्ट सङ्केतहरू समेत देखा पर्न थालेका छन् । न्यायिक नेतृत्वको हैसियतले म यस अवसरमा सम्बद्ध सबैप्रति हार्दिक आभार र कृतज्ञता समेत ज्ञापन गर्दछु । न्यायिक सुधारको क्षितिजलाई अझ फराकिलो बनाऔँ । यहाँहरूबाट आगामी दिनमा त्यसै अनुसारको क्रियाशीलताको अपेक्षा गर्दछु । २ वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यमा साथ अदालतहरू क्रियाशील रहेका छन् ।’

प्रधानन्यायाधीश श्रेष्ठले उच्च अदालत पाटनमा बनेको नवनिर्मित भवनले गुणस्तरीय सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उच्च अदालत पाटनको कामकारबाहीप्रति आफूहरू खुसी रहेको बताए ।

उनले सो अदालतको चौतारोलगायतका भौतिक पूर्वाधार निर्माण पनि महानगरपालिका तयार रहेको बताए ।

मेयर महर्जनले भने ‘उच्च अदालत पाटनसँग हामीले थुप्रै बिन्दुहरूमा सहकार्य गरेका छौँ । र, त्यो राम्रो छ । हामी खुसी छौँ । त्यहाँ चौतारालगायतका भौतिक पूर्वाधार हामी बनाई दिन्छौँ ।’

मेयर महर्जनले उच्च अदालत पाटनको भवन निर्माण कार्य समयमै सम्पन्न भएको भन्दै सम्बन्धित पक्षलाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =