सामाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुन्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छन् ।
आइतबार नेकपा (एमाले) काठमाडौं महानगर समितिले आयोजना गरेको महानगरस्तरिय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी हुन् ।
उनले देशमा जात–जातका बिचमा विभिन्न अन्तर्विरोध र द्वन्द्वहरू सिर्जना भइरहेको भन्दै त्यो गलत काम भएको बताइन् । उनले आजसम्म विभिन्न जातजातिहरू मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताइन् ।
उनले सामाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने बताइन् ।
उनले भनिन् ‘यतिबेला विभिन्न हिसाबले, विभिन्न कोणले सामाजिक अप्ठ्याराहरू सिर्जना भइराखेको छ । विभिन्न जातिको हिसाबले मेलमिलाप भएर बसेको हाम्रो देशमा कताकता विभिन्न खालको अन्तरबिरोधहरु सिर्जना गर्ने, द्वन्द्वहरू सिर्जना गर्ने, त्यस्तो खालको बेमेलहरू सिर्जना गर्ने काम भएको छ । यो बिलकुल गलत काम हो भन्ने मलाई लाग्दछ । अहिलेसम्म हामी जुन ढङ्गले मिलेर बसेका छौँ, हाम्रो राष्ट्रियतालाई बलियो बनाएर विश्वमै एउटा परिचय र पहिचान दिइराखेका छौँ । त्यो कुरालाई हामीले जीवित बनाउन सक्यौँ भने मात्रै अझै नेपाल र नेपालीको इज्जत रहन्छ । अझै नेपाल र नेपालीको परिचय फराकिलो हुन्छ । र विश्वसामु हामीले आफ्नो एकतालाई अझै बलियो बनाएर स्थापित गर्न सक्छौँ भन्ने लाग्दछ । संस्कृति हामीले गर्दै आएको पूजाआजा र सद्भाव मात्रै होइन, यसरी पनि हामीले जोडेर जानुपर्छ । र विविधता भएको देशमा एकतालाई मजबुत बनाउन सक्यौँ भने नेपाल र नेपालीको पहिचान बलियो हुन्छ । संस्कृतिबाट नै यो पहिचानलाई, एकतालाई बलियो बनाउन सक्छौँ । संस्कृति परम्परा र संस्कार मनाउँदा र जोगाउँदा त्यहाँ भित्रको विभेदलाई हटाउनुपर्छ । संस्कृतिभित्रका विभेद परम्परा भित्र भएका असमानताहरूलाई सच्याउँदै सुधार गर्दै लानुपर्छ ।’
उनले नेपालका संस्कृति र परम्पराभित्र रहेका विभेद र असमानताहरूलाई सच्याउँदै र सुधार गर्दै लानुपर्ने बताइन् ।








