पूर्वप्रधानमन्त्री चन्दको ‘अपराजिता’ उपन्यास लोकार्पण

काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता लोकार्पण भएको छ ।

शुक्रवार काठमाडौंमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित उपन्यास अपराजिताको लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पण गर्दै उनले लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरुको मार्मिक रुपमा चित्रण गर्नुभएको बताए ।

उनले उपन्यासका पात्रहरुको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोष मानिसहरुको हत्या र हिंसाको विपक्षमा आफ्नो मत प्रकट गर्नुभएको उल्लेख गरे ।

त्यस्तै पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिंगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई चन्दले सशक्त रुपमा प्रश्तुत गरेको उनको भनाई छ । पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघिसकेको चन्दको यस प्रकारको सक्रियताबाट नयाँ पुस्ताले पनि सिक्नुपर्ने बताए ।

उनले भने ‘लोकेन्द्रबहादुर चन्दको सरलता र सादापनबाट आजका पुस्ताका राजनीतिक व्यक्तित्वहरुले धेरै कुरा सिक्न सक्नुपर्छ । ८० वर्ष नाघिसकेको उमेरको यस कालखण्डमा समेत चन्दले साहित्य सिर्जनालाई निरन्तरता दिनु र अपराजिता जस्तो उत्कृष्ट कृति लेखन गर्नु हामी धेरैलाई विस्मृत पार्ने कुरा समेत हो । यस उपन्यासले नेपाली साहित्यको भण्डारलाई थप सुदृढ, समृद्ध बनाउन मद्दत पुर्याएको छ । उहाँको यस्तो सक्रियता र लगनशीलताबाट अरु साहित्यकारहरुले समेत प्रेरणा लिनुपर्दछ । प्रश्तुत पुस्तकमा लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरुको मार्मिक चित्रण गर्नुभएको छ । उपन्यासका पात्रहरुको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोष मानिसहरुको हत्या र हिंसाको विपक्षमा अनि शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिंगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई सशक्त रुपमा प्रस्तुत गर्नुभएको छ ।’

लोकार्पण समारोहमा संक्षिप्त मन्तव्य राख्दै पूर्व प्रधानमन्त्री तथा पुस्तकका लेखक लोकेन्द्रबहादुर चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भएपनि विगतमा समय अभावका कारण कथामै टुंग्याएको बताए । उनले उपन्यासको रुपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *