स्थानीय तहका कर्मचारीको जायज माग सम्बोधन गर्नुपर्छ : सांसद घिमिरे

काठमाडौँ । नेकपा (एमाले) का सांसद वासुदेव घिमिरेले स्थानीय तहका कर्मचारीको माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले स्थानीय तहका कर्मचारीहरूको आन्दोलनप्रति सरकार संवेदनशील हुनुपर्ने बताए । उनले उनीहरूको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए ।
उनले स्थानीय तहका कर्मचारीहरूलाई चरम असन्तुष्टि बनाएर ल्याउने कानुनले सामाजिक न्याय स्थापित गर्न नसक्ने बताए ।
उनले भने ‘जनतालाई सबै भन्दा नजिकमा रहेर सेवा दिने कर्मचारीहरूको आन्दोलनप्रति सरकार संवेदनशील हुनैपर्छ । कर्मचारी अनिश्चितकालिन आन्दोलनमा रहेकाले उनीहरूका जायज मागलाई पूरा गराउन तर्फ सरकारले पहलकदमी लेओस् । आन्दोलनरत कर्मचारीलाई सम्मानजनक तरिकाले वार्तामा बोलाएर उनीहरूले उठाएका जायज मागहरू पुरा गर्न सरकारले तत्काल अग्रसरता लिनुपर्छ । जनतालाई घरदैलोमा पुगेर सेवा दिने भनेका स्थानीय तहका कर्मचारी नै हुन् । उनीहरूलाई चरम असन्तुष्टि बनाएर ल्याइने नयाँ कानुनले सामाजिक न्याय स्थापित गर्न सक्दैन । शिक्षा विधेयकमा देखिएको नियति निजामती विधेयकमा नदोहोरियोस् ।’
उनले विद्यालय शिक्षा विधेयकको नियति निजामती कर्मचारी विधेयकमा नदोहोर्याउन आग्रह पनि गरे ।








