संसदको चालु अधिवेशन कात्तिक १४ सम्म जान्छः मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटो भन्दा छिटो संसदबाट पारित गर्ने बताएका छन् ।
शुक्रवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताए । उनले मुलुकको इज्जतको विषय भएकाले कानून निर्माणका सन्दर्भमा सरकारले ढिलाइ नगर्ने बताए ।
उनले जुनसुकै विधेयकलाई कानून मन्त्रालयले छिटो भन्दा छिटो काम सम्पन्न गराएर पठाउने काम गरिरहेको बताए ।
उनले चालु अधिवेशन भित्रै मानव अधिकार ऐनलाई पारित गर्न कठिन रहेको बताए ।
उनले भने, ‘यो मुलुकको इज्जतको विषय पनि हो । स्वाभिमानको विषय पनि हो । आयोगको कार्य सम्पादनको विषयमा मैले बोल्न चाहिन । कानून निर्माणका सन्दर्भमा जुन छ, सैद्धान्तिक सहमतिका सन्दर्भमा धेरै दिन लाग्दैन । सैद्धान्तिक सहमतिको मात्रै कुरा होइन, जुनसुकै विधेयकलाई हामीले अहिले कानून मन्त्रालयको सन्दर्भमा सहमति दिने सन्दर्भमा छिटो भन्दा छिटो गर्ने भनेर लागेका छौँ । विधेयकहरु सकेसम्म ७ दिन र धेरै थुप्रिए १५ दिन भनेर लागेका छौँ । त्यसै अनुसार काम भएको छ । यसको मस्यौदा सबै मिलेर गर्नुपर्छ, छिटो ल्याउनुपर्ने हुन्छ । फास्ट ट्रयाकमा हामी काम गर्नेछौँ । यही अधिवेशन भित्र निकै गाह्रो होला । कात्तिकको १३,१४ सम्म जानसक्ने सम्भावना छ । यो अधिवेशनमा निकै गाह्रो छ । जसरी हामीले टिआरसीमा अलिअलि इज्जत जोगाइरहेका छौँ । कानून निर्माणको सन्दर्भमा कतै रोकिँदैन ।’
मन्त्री गुरुङले चालु अधिवेशन कात्तिकको १३÷१४ गतेसम्म चल्ने बताए ।








