अपाङ्ग व्यक्तिको समस्या समाधानका शक्तिशाली आयोग गठन गरौँ : सांसद पन्थ

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्दै उनले अन्य संवैधानिक आयोगजस्तै अपाङ्गता भएका व्यक्तिको लागि पनि शक्तिशाली आयोग हुनुपर्ने बताएका हुन् ।
सांसद पन्थले सरकारले अपाङ्गता भएका व्यक्तिको संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने कामलाई प्राथमिकता नदिएको भन्दै आपत्ति समेत जनाए । मुलुकमा गणतन्त्र आएको १५ वर्ष पुगिसक्दा पनि सबै नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी सरकारले कुनै ठोस योजना तथा कार्यक्रम समेत ल्याउन नसकेको सांसद पन्थको गुनासो थियो ।
उनले भने ‘अपाङ्गता सम्बन्धी भएको कानुनहरू कार्यान्वयन हुन नसक्नु मुख्य चुनौतीका रूपमा रहेका छन् । मौजुदा कानुनहरूको कमजोर कार्यान्वयन र कतिपय कानुनमा विद्यमान अपाङ्गता भएका व्यक्तिहरूप्रतिको विभेद अझै पनि बाँकी रहेको कारणले गर्दा एकातर्फ कानुन प्रदत्त हकको कार्यान्वयन गर्ने कुरामा पनि राज्यको चासो छैन भने यसमा प्राथमिकता छैन भने अर्को यी सबै कारणहरूले गर्दाखेरि अपाङ्गता भएका व्यक्तिहरूको थप पिर मर्कामा परेका कुराहरू महसुस गरिरहेको स्थिति छ । नेपालको संविधानलगायतका विकासका विभिन्न दस्ताबेजहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक, आर्थिकलगायत थुप्रै अगाडि सँगसँगै लैजाने, पछाडि नपार्ने भन्ने कुरा छ । यसलाई पछाडि पारेको कुरा पनि राज्यले स्वीकार गरिसकेको छ । तर सम्बन्धी प्रभावकारी कार्यक्रम हुन नसकेको कुरा हाम्रा सामु छन् । दिगो विकास सम्बन्धी कार्यक्रममा पनि अपाङ्गता भएका व्यक्तिलाई समेट्न सकेको छैन । मुलुकमा व्यवस्था परिवर्तन भई रहने, अनि सङ्घीयता, गणतन्त्र स्थापना भएको अहिले १५ वर्ष भइसक्यो संविधान आएको पनि । हामीले तीन तहको निर्वाचन गरेको पनि ८ वर्ष भइसक्यो । यस बीचमा थुप्रै कानुनहरू पनि बने । ६ वटा नीति तथा कार्यक्रम आइसके । यी सबै स्थितिले पनि हामीलाई चाहिँ निराशाजनक अवस्थामा नै राखिरहेको अवस्था छ । यी सबै कुराहरूलाई हामीले मध्यनजर गरेर अपाङ्गता भएका व्यक्तिको पक्षमा बनेका संवैधानिक, नीतिगत कुराहरू छन् । कानुनी व्यवस्थाहरू छन् । यी सबै कुरालाई कार्यान्वयन गर्ने कुरा, यसमा रहेका विभेदकारी कुराहरू हटाउने कुरा, अव बन्न बाँकी रहेका कानुनहरूलाई बनाउने कुरामा जोड दिन चाहन्छौँ । अपाङ्गता भएका व्यक्तिहरूको विषय बस्तुलाई सम्बोधन गर्नका लागि शक्तिशाली आयोग वा प्रतिष्ठान बनाउनु पर्यो ।’
सांसद पन्थले अपाङ्गता भएका व्यक्तिहरूको हित अनुकूलका कानुनहरू कार्यान्वयनमा ध्यान दिन पनि सरकारलाई सचेत गराए ।








