संस्थापन पक्षलाई शेखरको सन्देश–पार्टी जोगाउनु छ,कोशीमा ब्याक हुन्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले आफैँ फोन गरेका थिए भने देउवाको निर्देशनमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले फोन गरेको काँग्रेस स्रोतले जनायो ।
प्रतिउत्तरमा शेखरले पार्टी जोगाउनलाई यो निर्णयमा पुग्न परेको बताएका थिए ।
‘कोशीमा म ब्याक हट्न सक्दिनँ । पार्टीबाट नै मुख्यमन्त्री बनाऔँ । आफ्नो समूहबाट नभए अर्कोमा जाऔँ भन्न सक्नुभएन,’ शेखरले दिएको जवाफ बारे उनी निकट नेताले भने,’काङ्ग्रेसबाट यही नाम र यही व्यक्ति हुनुपर्दछ भनेको थिइनँ । काङ्ग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्दछ मात्रै भनेको थिएँ ।’
कार्कीको नेतृत्वमा प्रदेश प्रमुखलाई बुझाइएको हस्ताक्षरबाट आफू पछि हट्नै नसक्ने शेखरले बताएका थिए । राष्ट्रपति र ज्ञानेन्द्रबहादुर कार्कीको अनुरोध नाम फिर्ता लिनका लागि थियो ।
‘नाम फिर्ता गरेर गठबन्धनकै सरकार बनाउन सहयोग गर्नुस् भन्ने थियो । शेखर दाइले स्पष्टसँग नाम फिर्ता गर्न नसकिने बताउनुभयो,’ स्रोतले भन्यो ।
माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।
आङबोले बुझाएको पत्रमा राखिएको आफनो समूहका सांसदहरूको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समूहले प्रतिवाद गर्दै आएको छ ।








