अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान कमजोर भयो : उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धान कमजोर भएको बताएका छन् ।
बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । उनले कतिपय ऐन बनाउने सवालमा आयोगलाई दिइएको अधिकारको दुरुपयोग भएको बताए ।
उनले स्थानीय तहमा सहभागी भएका राजनीतिक दलहरूले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य निभाउन आवश्यक रहेको बताए । उनले फाइललाई वर्षौँसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ की छैन रु भन्दै प्रश्नसमेत गरे ।
उनले आयोगले कमजोरी गरेको बखतमा बाहेक न्याय दिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए ।
उनले भने ‘कतिपय ऐन बनाउने सवालमा उहाँहरूलाई पाएको अधिकारलाई पनि अलिकति दुरुपयोग हुने काम भएको छ । त्यतातिर हामीले ध्यान दिनुपर्छ । स्थानीय तहमा सहभागी भएका राजनीतिक दलहरूले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य हाम्रो पनि हो । कहिले कहीँ अख्तियारले सम्झाउँछ, कहिले कहीँ आफैँले पनि सम्झिँदा हुन्छ । यतातिर पनि हामीले ध्यान दिनुपर्छ । फाइललाई वर्षौँसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ की छैन ? रातो घरको बेसरी आतंक छ । त्यो आतंक होइन, कमजोरी गरे भने छुट्टै हो नत्र यो घरले न्याय दिन्छ भन्ने विश्वास जगाउनु पर्छ । यो विश्वासमा केही कमी भएका छन् । अनुचित कार्य अनुचित ढङ्गले नै प्रयोग भएकाले संविधानबाट पनि यो शब्द हटाउनु परेको हो । अख्तियारको विस्तृत अनुसन्धान कमजोर छ । त्यसकै लागि एक्सपोटिजको विकास गर्ने ढङ्गले लाग्नुपर्छ । क्षमता वृद्धिको लागि भूमिका खेल्नुपर्छ ।’
सांसद पाण्डेले अख्तियारमा क्षमता वृद्धि हुन जरुरी रहेको बताए ।








