ब्याजको लोभमा पर्दा ठगिए पूर्वएसपी, डुब्यो करोड !

काठमाडौं – धेरै ब्याजको लोभ पर्दामा हजारौं व्यक्ति सहकारीबाट ठगिएका छन् । सामान्य सर्वसाधरण मात्र होइन प्रतिष्ठित व्यक्तिहरु समेत ठगिएका छन् ।
ललितपुरको देउराली सहकारीबाट नेपाल प्रहरीका एक पूर्वएसपी नै ठगिएका छन् । पूर्वएसपी राजेन्द्र थापा यतीबेला पीडित बनेर प्रहरी कार्यालय धाइरहेका छन् । उनको करिब एक करोड रुपैयाँ सहकारीले फिर्ता गरेको छैन ।
देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले अनुसन्धान गरिरहेको छ । सो सहकारीका सञ्चालकहरुले संस्थाको पैसा जग्गामा लगानी गरेर डुबाएका हुन् । एक वर्षअघिदेखि नै सो सहकारी समस्यामा छ ।
एक वर्षको समय दिदा पनि संस्थाले पैसा फिर्ता गर्न नसकेपछि सिआइबीले सञ्चालकलाई पक्राउ गरेर कारबाही थालेको छ । सो संस्थाले करिब दुई अर्ब रुपैयाँ ठगी गरेको पीडितहरु बताउँछन् । यतीबेला उजुरी दिन सिआइबीमा पीडितहरुको भिड लागेको छ ।








