नाबालिकाको अश्लील भिडिओ यत्रतत्र

धनगढी । डडेल्धुराकी एक युवतीको अश्लील भिडिओ दृश्य सार्वजनिक गरेर चरित्रहत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । आइतबार परशुराम नगरपालिका एक नाबालकविरुद्ध अश्लील (नग्न) भिडिओ सार्वजनिक गरेको आरोपमा उजुरी निवेदन परेको हो ।
स्थानीय पीडित १७ वर्षीया नाबालिका आफन्तले प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए । करिब एक महिनाअघि ती नाबालिकाको प्रेमीसमेत रहेका ती नाबालकले सो भिडिओ फेसबुक, म्यासेन्जर च्याटमा सार्वजनिक गरेर भाइरल बनाएको बुझिएको छ । प्रेम सम्बन्धमा रहेका उनीहरुबीच खटपट भएपछि आफूसँग रहेको अश्लील भिडिओ आउट गरेको बताइन्छ ।
ती १७ वर्षीय नाबालक परशुरामकै एक वडाका अध्यक्षका छोरासमेत रहेको खुलेको छ । प्रहरी स्रोतकाअनुसार नाबालकले आफू धनगढीमा रहेको जनाउदै भिडिओ सार्वजनिक प्रकरणमा निर्दोष रहेको दाबी गरेका छन् । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








