इजरायल घटनासम्बन्धी सरकार गम्भीर हुनुपर्छ : सांसद पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले इजरायल घटनासम्बन्धी उद्धारका काम सरकारले गम्भीर भएर गर्नुपर्ने बताएका छन् ।
मङ्गलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धैर्यतापूर्वक, विवेक पुर्याएर नागरिकको सुरक्षामा सरकार लाग्नुपर्ने बताए ।
उनले त्यहाँ निधन भएकाको शव देशमा ल्याउने र अझै सम्भावित घटना नियाल्नुपर्ने आवश्यकता रहेको बताए । उनले अप्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा अपेक्षा गर्ने भएकाले सरकारले पीडितको उद्धारमा आवश्यक ध्यान दिन जरुरी रहेको बताए ।
उनले भने ‘हामीले धैर्यतापूर्वक, विवेक पुर्याएर नागरिकको सुरक्षा गर्ने, त्यहाँ निधन भएकाको शव देशमा ल्याउने र अझै सम्भावित घटना नियाल्नुपर्छ । यो राज्यकै तयारीको काम हो । अहिले यो घटनालाई सुरुवात भनिएको छ । हिजो मात्रै पनि सर्वदलीय बैठक बसेर सबै दलले सरकारलाई सहयोग छ, दल विशेष हुँदैन भन्नुभएको छ । सरकारले आफ्नो तर्फबाट गर्ने काम गम्भीर भएर गर्नुपर्छ । अप्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा गरिन्छ । अहिले राज्यको त्यो भूमिका नागरिकले अपेक्षा गरेका छन् । यसमा संयमित ढङ्गले प्रतिनिधित्व गर्नुपर्छ ।’
सांसद पुनले जनताले राज्यसँग अभिभावकको भूमिकाको अपेक्षा गरेको बताए ।








