बाल्यकालको हराएको लक्ष्य (कविता)

तपाईँहरूले कतै देख्नुभयो ?
एक्लै भौँतारिरहेका,
छटपटाइरहेको
मलाई खोज्दै गाउँ, सहर चहार्दै
मेरो नाम गुहारी रहेको
कहिले उकाली, कहिले ओराली हुँदै
चौतारीमा मलाई पर्खिरहेको
आकाश र बादलको मित्रता टुटेजस्तै
असार महिनामा दरदर दर्किरहेको
जति सम्झ्यो उति प्रिय लाग्ने
बाल्यकालका लक्ष्यहरू ।

कति निःशुल्क र निःस्वार्थ थिए
मेरा ती लक्ष्यहरू
भन्थे,
यो बन्छु, त्यो बन्छु,
अहिले बाल्यकाललाई सम्झँदै गर्दा
म केबल झस्कन्छु,
खै लक्ष्यहरू कता हरायो ? भनी
आफैलाई प्रश्न गर्छु ,

आफ्नो विगतलाई पल्टाउँदा पल्टाउँदै
अन्तिम पानालाई हेरेर निष्कर्षमा पुग्छु
मेरा लक्ष्य त बाल्यकालमै बितेछ क्यारे,
हात समाउन बिर्सेर
छुटेछ क्यारे,
अमूल्य गहनाजस्तै डाँकुले लुटेछन् क्यारे ।।

लाग्थ्यो,
लक्ष्य नै सफलताको सूत्रपात हुन्,
अब जिन्दगी अँध्यारो हुनेछैन
तर
यौवनले २० पार गर्दा
यर्थाथको बोध भएपछि
चुलिँदै गएका समस्याहरू
थाम्न नसकेर बोझ भएपछि
वर्तमान भन्दा भविष्य अझै
अन्धकार हुँदै गएपछि
सफलताको क्षणिक सुखभन्दा
असफलताको उचाइ चाङ बढेपछि
छेद विच्छेद, रक्ताम्मे भएर
लक्ष्य आफै भाग्दो रहेछ,

आफैँ देखि लुक्दो रहेछ,

कसैलाई नभनी
सुटुक्क उ हराउँदो रहेछ,
सायद उ त्यो डाँडापारि
डुब्न लागेको घामजस्तै,
उ अस्ताउँदो रहेछ, बिलाउँदो रहेछ ।।।

तर,
अझै म हारेको छैन,
सफल हुने चाहनालाई
असफलताको डरले मारेको छैन,
आजलाई भैगो,
भोलि गरौँला भनेर सारेको छैन,
नढाँटी भन्दा
लक्ष्य जति टाढा पुगेपनि
उ बाट म कहिल्यै टाढिएको छैन,
आज पनि म उसैलाई खोज्दै छु
यस कवितामार्फत
आफ्ना लक्ष्यहरू लेख्दैछु
बरु बुझाइदिनुहोला,
तपाईँहरूले कतै देख्नुभयो भने
कहीँ कतै बाटोमा भेट्नुभयो भने
सुनाइदिनुहोला
खोज्दै छ भनेर,
दिनरात गनेर बस्दै छ भनेर ।।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *