बढ्यो ‘भरिया दाइ’को व्यस्तता (तस्बिरहरू)

काठमाडौँ । दसैँ, तिहार र छठपर्वको आगमनसँगै देशको प्रमुख व्यापारिक केन्द्र महाबौद्धमा निकै चहलपहल बढेको छ । कपडाको सानादेखि ठूलासम्म होलसेल पसल रहेको सो क्षेत्रमा देशका विभिन्न भागबाट सामान लिन आउने गर्दछन्, झन् चाडपर्वको समयमा सो क्षेत्रमा किनमेलका लागि मानिसहरूको भिडभाड नै लाग्ने गर्दछ ।
सोही भिडभाडमा व्यापारीको सामान एक ठाउँबाट अर्को ठाउँ बोकेर पुर्याउने भरिया दाईहरुलाई पनि निकै व्यस्त देखिन्छ । अन्य समयको तुलनामा दसैँ तिहारमा काम पनि धेरै हुने र कमाई पनि राम्रो हुने भएकाले भरिया दाईहरु निकै व्यस्त देखिन्छन् ।
लगभग २० वर्षदेखि महाबौद्ध क्षेत्रमा ठेलामा सामान बोक्ने रामेछाप घर भएका वासु श्रेष्ठले वीरगन्जबाट आएको ३ वटा ट्रकको सामान बोकी सक्नु भएको रहेछ, अन्य दिनमा दिनको १०००/१५०० कमाई गर्ने उनले यस समयमा भने २००० देखि २५०० सम्म कमाई हुने कुरा बताए । विगत २० वर्ष देखि महाबौद्ध क्षेत्रमा भारी बोक्दै आउनु भएको नरबहादुर श्रेष्ठको भने फरक अनुभव रहेको छ, पहिलेको दसैँ तिहारको तुलनामा तीन भागको एक भाग पनि काम नभएको उनी बताउँछन् ।
ठूला व्यापारीहरूले सामान झार्ने गरेको र साना साना व्यापारीहरूले सामान झार्ने नसकेका कारण काम नभएको उनका भनाई छ तर कमाई भने अन्य दिनको तुलनामा केही बढेको छ उन भन्छन् । दोलखा सिंगठीका कृष्ण बहादुर कार्की पनि नरबहादुर कै जस्ता अनुभव रहेको छ, व्यापारीहरूले अटो रिक्सा, पठाओ जस्ता साधनहरुको प्रयोग परि सामान ढुवानी गर्न थालेकाले कमाई खासै नभएको उनी बताउँछन् ।









