मौसम विज्ञ भन्छन्– मौसम प्रणालीको अध्ययन गर्न जरुरी छ

काठमाडौँ । मौसम विज्ञहरूले थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका छन् ।

सोमवार काठमाडौँमा भएको प्रभावमा आधारित मौसम पूर्वानुमान सम्बन्धी जानकारी र सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा विज्ञहरूले प्रतिकुल मौसमी अवस्था र त्यसले पार्ने प्रभाव पत्ता लगाउन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

उनीहरूले मौसम कस्तो छ ? पानी पर्छ की पर्दैन ? भनेर मात्रै नभई पानीले के—के प्रभाव पार्छ ? भन्ने किसिमको जानकारी सहितको पूर्वानुमानका लागि प्रभावमा आधारित मौसम पूर्वानुमान चाहिने बताए ।

सिनियर डिभिजनल मेटेरियोलोजिस्ट शान्ति कँडेलले प्रभावमा आधारित मौसम पूर्वानुमानले मौसमपश्चात पार्ने प्रभाव जानकारी पाउन र आवश्यक कार्ययोजना बनाउन सहयोग पुग्ने बताइन् ।

सिनियर डिभिजनल मेटेरियोलोजिस्ट कँडेलले भनिन्, ‘मौसम पूर्वानुमान गर्दापनि क्षति भइरहेको छ । मौसम पूर्वानुमान मात्रै होइन प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नुपर्दो रहेछ । सोचेअनुरूप क्षति कम गर्न सकेनौँ । यसले गर्दा प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नुपर्ने रियलाइजेसन भयो । मौसम के हुन्छ ? पानी पर्छ की पर्दैन ? भनेर मात्रै भन्ने होइन । त्यो पर्ने पानीले के के प्रभाव पार्छ ? भन्ने किसिमको जानकारी सहितको पूर्वानुमान गर्नु प्रभावमा आधारित मौसम पूर्वानुमान हो । जस्तैः भारी वर्षा हुन्छ, वर्षाको कारण के के प्रभाव पर्छ ? भनेर पूर्वानुमान गर्नु । वर्षाले बाढी, पहिरो लगायतका घटनाहरू ल्याउन सक्छ । यो यो राजमार्ग अवरुद्ध हुनसक्छ । यो यो क्षेत्रहरू प्रभावित हुन सक्छन् भनेर प्रभावसहितको जानकारी भयो भने के एक्सन लिने र रेस्पोन्स गर्नका लागि पनि यसले सहज वातावरण बनाउँदो रहेछ । त्यही भएर मौसम पूर्वानुमान मात्रै नभई प्रभावमा आधारित मौसम पूर्वानुमान विश्वमै जल्दो बल्दो इस्यु भएको छ । विश्व मौसम सङ्गठनको हामी पनि सदस्य राष्ट्र छौँ । यसले पनि पूर्वानुमान मात्रै गरेर भएन सोचे अनुरूप क्षति कम गर्ने हो भने प्रभावमा आधारित पूर्वानुमान मौसम सुरु गर्नुपर्छ भनेर सल्लाह दिएको छ । र, गाइडलाइन (निर्देशिका) हरू प्रिपियर गरेको छ । र, हामीले पनि प्रभावमा आधारित पूर्वानुमान मौसमको हामीले पनि परीक्षण गर्यौँ । प्रभावमा आधारित मौसम पूर्वानुमानले प्रतिकुल मौसमी अवस्थाहरू के कस्ता हुन सक्छन् रु प्रकोपहरू के के हुन सक्छन् रु त्यो प्रकोपले पार्न सक्ने प्रभावको आँकलन गर्ने र पूर्व सूचना गर्ने कुराहरू प्रभावमा आधारित मौसम पूर्वानुमानमा पर्छन् जुन चाहिँ आजको आवश्यकता हो । कुनै पनि प्रकोप घट्नसक्ने सम्भावना र प्रकोपले हुनसक्ने प्रभावहरूको सम्भावना पनि यस भित्र पर्छ । यसले निर्णयकर्तालाई विभिन्न किसिमका निर्णयहरू लिन सहज हुन्छ ।’

जल तथा मौसम विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान, जल पूर्वानुमान, बाढी पूर्वानुमान सम्बन्धी सही सूचना पुर्याउन सञ्चार माध्यमको भूमिका अग्रणी रहने बताइन् ।

उनले जल तथा मौसम पूर्वानुमानको महत्व, जलवायु परिवर्तनको बारेमा जनचेतना जगाउन र नीति निर्मातालाई सुसूचित गर्न मिडियाको भूमिका महत्वपूर्ण रहने बताइन् ।

श्रेष्ठले नेपालको पर्वतीय मौसमले नेपाल मात्र नभई एसिया र समग्र विश्वलाई पनि प्रभाव पार्ने बताइन् ।

श्रेष्ठले भनिन् ‘धनजनको क्षति न्यूनीकरणको लागि मौसम पूर्वानुमान, जल पूर्वानुमान, बाढी पूर्वानुमान सम्बन्धी सही सूचना पुर्याउन मिडियाको ठूलो भूमिका हुन्छ । अर्को भनेको जल तथा मौसम पूर्वानुमानको महत्व, जलवायु परिवर्तनको बारेमा जनचेतना जगाउने र नीति निर्मातालाई सुसूचित गर्ने पनि मिडियाको भूमिका हुन्छ । साइन्समा इन्भेष्ट (लगानी) गरेर अवसर लिन सक्छौँ । तसर्थ सरकारलाई विज्ञानमा लगानी गर्न सुसूचित गर्न पनि मिडियाको भूमिका हुन्छ । जलवायु उत्थानशील विकास गर्नका निम्ति समाजमा र नीति निर्माताहरुलाई चेतना जगाउन पनि मिडियाको भूमिका हुन्छ । हामीले मात्रै गर्दा १० वर्ष लाग्छ भने मिडियाले गर्दा छिटो सूचना प्रवाह हुन्छ । अहिले हामी प्रभावमा आधारित पूर्वानुमानमा गइरहेका छौँ । पर्वतीय मौसम प्रणाली नेपालको लागि एकदमै महत्वपूर्ण छ । कृषि, आन्तरिक हवाई सुरक्षाका लागि पर्वतीय मौसम प्रणालीको अध्ययन गर्ने एकदमै जरुरी छ । पर्वतीय मौसम प्रणालीको अध्ययन अनुसन्धानका लागि लगानी गर्नुपर्ने देखिन्छ । नेपालको पर्वतीय मौसमले नेपाल मात्र नभई एसिया र समग्र विश्वलाई पनि प्रभाव पार्छ । किनभने नेपालमा ८ हजार मिटर भन्दा अग्ला हिमालहरू छन् । हिमाली क्षेत्रमा जलवायु परिवर्तन भइरहेको छ । त्यसको लागि मिडियाको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय निकायलाई घच्घच्याउन जरुरी छ ।’

उनले कृषि, आन्तरिक हवाई सुरक्षाका लागि पर्वतीय मौसम प्रणालीको अध्ययन गर्न जरुरी रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 9 =