मन्त्रीपरिषद् बैठक

इजरायल घटनामा मृतकका परिवार लाई १० लाख दिने निर्णय, भोली राष्ट्रिय शोक घोषणा

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले शनिबार दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ’यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरप प्रतिपरिवार दस लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने ।’

यस्तै सरकारले हमासको आक्रमणमा परी नेपालीहरूले ज्यान गुमाएको दुःखद घटनापछि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ ।

उनीहरूको सम्मानमा मंगलबार आधा झण्डा झुकाइने छ । ’यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

सरकारले घटनामा मृत्यु भएकाको शव पनि नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयलाई इजरायल सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ । बेपत्ताको खोजीका लागि इजरायली सरकारसँग समन्वय गर्ने र घाइतेहरूलाई आवश्यक उपचारको व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

त्यस्तै नेपाल फर्कन चाहने इजरायलमा रहेका नेपाली ल्याउन सरकारले हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको जहाज पठाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 14 =