हुलाक सेवालाई आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिस्पर्धी बनाउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताएकी छन् ।

सोमवार विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत रूपमा हुलाक सेवालाई प्रभावकारी बनाउन नसकिने बताएकी हुन् ।

उनले आगामी दिनमा हुलाक सेवालाई आधुनिक र प्रतिस्पर्धी बनाउँदै यसको दायरलाई फराकिलो पार्नुपर्ने बताएकी हुन् । उनले हुलाक सेवामा प्रविधियुक्त सङ्गठनात्मक संरचना बनाउनुपर्ने बताइन् ।

त्यस्तै हुलाक सेवामा कार्यरत कर्मचारीहरूको क्षमता विकास गर्नुपर्ने पनि उत्तिकै आवश्यक रहेको उनले बताइन् ।

मन्त्री शर्माले सरकारले प्रविधि र भौतिक पूर्वाधार सुधारसहित हुलाक सेवामा व्यापक सुधार ल्याउन पहल गरिरहेको बताइन् । उनले सम्पूर्ण सरकारी सामग्रीको ओसार–पसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउन सरकारले नीतिगत निर्णय गरिसकेको पनि जानकारी गराइन् ।

उनले भने ‘परम्परागत रूपमा अब हुलाक सेवालाई प्रभावकारी बनाउन सकिने अवस्था छैन । यसमा व्यापक सुधार ल्याउन, सेवा प्रवाहलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सरकारको उद्देश्य रहेको छ । त्यसका लागि आवश्यक प्रविधियुक्त सङ्गठनात्मक संरचनासहित कार्यरत कर्मचारीको क्षमता विकास गर्नुपर्ने उत्तिकै आवश्यक छ । सरोकारवालाबिच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधारसहित सेवामा व्यापक सुधार ल्याउन पहल भइरहेको पनि यसै सन्दर्भमा जानकारी गराउन चाहन्छु । विश्व र नेपालमै पनि हुलाक सेवाको इतिहास निकै लामो देखिन्छ । संसारका अन्य देशहरूले हुलाक सेवालाई परिमार्जित गर्दै यसलाई सूचना प्रविधिसँग जोडेर सरकारी सेवाको अनिवार्य अङ्ग नै बनाइसकेका छन् । तर हाम्रोमा भने अझैपनि सरकारी निकाय नै ऐच्छिक सेवाको रूपमा प्रयोग गर्ने गरेको देखिन्छ । यो अवस्थालाई बदल्ने गरी सम्पूर्ण सरकारी सामग्रीको ओसार–पसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि केही दिन अघि मात्रै सरकारले नीतिगत निर्णय गरिपनि सकेको छ । हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा हुलाक सेवा विभाग र केही निजी क्षेत्रका अनलाइन कम्पनी बिच सामानको ढुवानी सम्बन्धी सम्झौता पनि भएको छ । जिल्ला प्रशासन कार्यालयसम्म राहदानीको हुलाकमार्फत ढुवानी गर्ने कार्य सुरु भएको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा सूचना प्रविधिको अत्यधिक विकास भएका देशमा पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरणजस्ता नागरिकका आधारभूत सेवा वितरण हुलाकबाट अनिवार्य गर्ने गरिएको छ । सूचना, प्रविधिको विकासले आधारभूत पत्राचारलाई डिजिटाइजेशन गरेको यथार्थ हो । तर हुलाक सेवाको औचित्य नै समाप्त भएको होइन । अब समय र प्रविधिको विकाससँगै हामीले हुलाक सेवाको दायरा फराकिलो बनाउनुपर्छ । नेपालभित्र हवाई सेवा पुगेका जिल्लाहरूमा द्रुत डाक सेवा र विभिन्न देशसँग वैदेशिक द्रुत डाक सेवा सञ्चालनमा छ । यी सेवालाई अझै प्रभावकारी बनाउँदै हुलाक सेवाको पुनः संरचनामार्फत मौजुदा साधन, स्रोतको पूर्ण क्षमतामा परिचालन गरेर नयाँ व्यावसायिक ढाँचामा लैजाने तयारी थाल्न अब ढिलाइ गर्नु हुँदैन भन्ने हाम्रो विश्वास छ ।’

उनले हुलाक सेवाको पुनः संरचना गर्नुपर्नेमा जोड दिइन् । उनले स्मार्ट हुलाक बनाउने गरी लाग्न कर्मचारीहरूलाई आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =