आधुनिक वृद्धाश्रम बनाउन आवश्यक छ : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले व्यवस्थित सुधार गृह बनाउनुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री आचार्यले यस्तो बताएका हुन् ।

उनले बाल सुधार गृहमा दिनप्रतिदिन सङ्ख्या बढ्दै जाने अवस्था रहेको भन्दै व्यवस्थित सुधार गृह बनाउन जरुरी रहेको बताए । उनले अनुगमनका क्रममा आफूले सुधार गृहमा कोचिएर बालबालिकाहरू राखेको देखेको भन्दै उनीहरूलाई बस्न समेत गाह्रो रहेको बताए ।

उनले सुधार गृह अत्यन्त कम क्षमताका भएकाले सुधार गृह बढाउन आवश्यक रहेको बताए । मन्त्री आचार्यले बाँकेको नौबस्तामा दुई सय क्षमताको सुधार गृहको रूपमा कारागारकै भवनलाई व्यवस्था गरिएको पनि बताए ।

उनले मन्त्रालयको बजेट १ अर्ब २४ करोड बजेट रहेको भन्दै बजेट अभावले सोचेअनुरुपको काम गर्न नसकिने बताए ।

उनले भने ‘कतिपय कुराहरू अब यो मन्त्रालयले बाल सुधार गृहको रूपमा हेर्ने हो भने त्यहाँको व्यवस्थापन मात्रै हेर्ने हो । सुरक्षा गृह मन्त्रालय, स्वास्थ्य हेर्दा स्वास्थ्य मन्त्रालय, सीपहरू उद्योग मन्त्रालयले हो । त्यहाँ अनुगमन गर्न जाँदा त्यहाँ कोचिएर बसेका बालबालिकाहरू त्यहाँबाट निस्किँदा मलाई लाग्छ तिनीहरू खुट्टाले हिँड्न पनि गाह्रो हुन्छ जस्तो देखिन्छ । किनभने साँघुरो ठाउँमा बर्सौँ वर्ष बस्नुपर्दा गाह्रो छ । त्यसैले हाम्रा यी सुधार गृह अत्यन्त कम क्षमताका छन्, सङ्ख्या बढी छ । त्यसले पनि समस्या आएको छ । त्यहाँबाट निस्किँदा असल नागरिक हुन् भन्ने राज्यको सोचाई हुनुपर्ने हो तर त्यो वास्तवमा देखिएको छैन । बाल सुधार गृहमा कताकताबाट लागुऔषध खाएर हुलदंगा हुने गरेको सुन्ने गरेका छाँै । उनीहरूको पनि तालमेल मिलेको छैन । १२÷१३ वर्षका देखि २९ वर्षसम्मका पनि छन् । त्यसैले अहिले बाँकेको नौबस्तामा दुई सय क्षमताको सुधार गृहको रूपमा कारागारकै भवनलाई व्यवस्था गरिएको छ । यो एक हप्ता भित्रमा टुंगो लाग्छ । हामीले १८ वर्ष माथिकालाई त्यहाँ सार्ने भन्ने छ । यसका सम्बन्धित मन्त्रालयलाई बोलाएर पनि यसबारेमा छलफल गर्नुपर्छ । १ अर्ब २४ करोड बजेट छ, त्यसबाट के काम हुन्छ रु दुई, चार लाख भनेको त वडाले गर्ने काम यो मन्त्रालयले गरेको छ । अब हाम्रा बाल सुधार गृहमा दिनप्रतिदिन सङ्ख्या बढ्दै जान्छ । व्यवस्थित सुधार गृह बनाउनु पर्छ ।’

मन्त्री आचार्यले देशमा आधुनिक र व्यवस्थित खालको वृद्धाश्रम आवश्यक रहेको बताए । उनले सातै प्रदेशमा एउटा वृद्धाश्रम अपरिहार्य भइसकेको बताए ।

उनले गोठाटारको वृद्धको लागि हस्पिटल र वृद्धाश्रम बनाउने भनिए पनि अहिलेसम्म त्यहाँको जग्गामा नै विवाद रहेको बताए । उनले गोठाटारमा अब सके सोही जग्गा मिलाउने र नभए त्यसको विकल्पको रूपमा नजिकै जग्गा किनेर भएपनि वृद्धाश्रम बनाउने बताए ।

उनले भने ‘वृद्धाश्रम राम्रो कुरा त हुँदै होइन तथापि अहिलेको हाम्रो परिवेश के भयो भने कोही गरिब छ भने बाहिर कमाउन जान्छ, घरमा बा आमा त्यत्तिकै । पढ्न जान्छ, छिटो आउँदैन । छोरा गएपछि बुहारीले बा आमालाई बेवास्ता गर्छिन्, ती व्यवहारिक कुरा हुन् । उनीहरूलाई राज्य अभिभावक भएकाले हेर्नुपर्छ । उनीहरूलाई आधुनिक र व्यवस्थित खालको वृद्धाश्रम आवश्यक छ । सातै प्रदेशमा एक एक ठाउँमा बनाउन सके राम्रो हुन्थ्यो । गोठाटारको वृद्धको लागि हस्पिटल र वृद्धाश्रम बनाउने भन्ने थियो । त्यो जग्गाको अध्ययन पनि भइसकेको छ । तर अब त्यो बेला कसको नेतृत्व थियो, दोष दिन चाहन्न । त्यसको टुंगो लगाएर काम सुरु गर्नुपर्ने थियो । तर बजेट छुट्टियो काम भएन । काम सुरु गर्नुपर्छ भनेर जाँदा त्यो जग्गा नै काँचो रहेछ । पशुपति विकास कोषको जग्गा रहेछ, अख्तियारले रोकेको रहेछ, दिन मिल्दैन भनेर । हामीले विकल्प रूपमा यो कुरा अघि बढाएका छौँ । त्यसको टुंगो लागे त्यही ठाउँमा र नलागे आसपासमा अर्को जग्गा व्यवस्थापन गरी काम गर्नेमा मन्त्रालय लागेको छ ।’

मन्त्री आचार्यले परिवारबाट हेला भएका वृद्धवृद्धालाई राज्य अभिभावक भएर हेर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =