दसैँमा दंगा हुन नदिन सांसदहरूले पहल लिऔँ : सांसद चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद लालविर चौधरीले दसैँमा कुनै किसिमको दंगा हुन नदिन सांसदहरूले भूमिका खेल्नुपर्ने बताएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले दसैँलाई आ–आफ्नो किसिमले मनाउने परम्परा रहेको भन्दै सोही अनुरूप मनाउन आग्रह गर्नुपर्ने बताएका हुन् ।
उनले दसैँको बेलामा कुनै दंगा हुन नदिन सांसदहरूले पहल लिनुपर्ने बताए । उनले सांसदहरूले स्थानीय प्रशासनसँग समन्वय गर्नुपर्ने पनि बताए ।
उनले भने ‘आ–आफ्नो किसिमले दसैँ मनाउने परम्परा भएको नाताले दसैँको बेलामा माननीय सदस्यज्युहरुले आ–आफ्नो क्षेत्रमा सबै जात, जातिलाई आफ्नै किसिमले मनाउनको लागि जिल्ला प्रशासन प्रमुखलाई सल्लाह गरेर त्यहाँ दंगाका कुराहरू अगाडी नबढुन् । त्यसलाई सहज ढंगले अवतरणका लागि हामी माननीय सदस्यहरूले पहल गर्नुपर्छ ।’
उनले जनतामा धार्मिक विखण्डन गराउन खोजिएको भन्दै यसको जिम्मेवारी सरकारले मात्रै नभएर सांसदहरूले पनि लिनुपर्ने बताए ।








