कोशीमा सत्ता संकट

कोशीको मुख्यमन्त्रीमा काँग्रेस र माओवादीकै दाबी

काठमाडौं । कोशी प्रदेशको अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि गठबन्धन दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले दाबी प्रस्तुत गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा भदौ २२ गते मुख्यमन्त्री बनेका नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने भएपछि आजै राजीनामा दिएका छन् ।

कार्कीले प्रदेशसभाबाट आजै विश्वासको मत लिने कार्यसूची थियो । तर, मत परीक्षण नगरीकन उनले पदबाट राजीनामा दिएका हुन् ।

कार्कीको राजीनामासँगै प्रदेशमा उपधारा ५ बमोजिम नयाँ सरकार गठनको बाटो खुलेको छ । उपधारा ५ बमोजिम प्रदेशसभामा बहुमत पु¥याउनसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यसअन्तर्गत मुख्यमन्त्री बन्न दलको नेता भइरहनु पर्दैन । बहुमत दाबी गर्ने प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्न पाउँछन् । मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएसँगै सरकारको नेतृत्वका लागि गठबन्धन दल काँग्रेस र माओवादीले दाबी प्रस्तुत गरेका हुन् ।

काँग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले अब बन्ने नयाँ सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए । तर मुख्यमन्त्री कसलाई बनाउने भन्ने निर्णय सत्ता गठबन्धनको शीर्ष नेतृत्वले गर्ने उनको भनाइ छ ।

यता, माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएका छन् ।

यसअघि काँग्रेसको नेतृत्वमा दुई पटक सरकार बने पनि टिक्न नसकेको बताउँदै उनले अब माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताए ।

प्रदेशसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्बोले यसअघि काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको स्मरण गरे ।
काँग्रेसले अब पनि विश्वासको मत प्राप्त गर्न नसक्ने गरी सरकारको नेतृत्वमा दाबी गर्न नमिल्ने उनले बताए । माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने र विश्वासको मत पनि प्राप्त गर्न सकिने उनको भनाइ छ ।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका उपसभामुखबाहेक ३९, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ । एमाले र राप्रपाबाहेक अहिले गठबन्धनसँग ४७ मत पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =