गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक द्वन्द्व निम्त्याउन संलग्न छन् : सांसद शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले गणतान्त्रिक व्यवस्था मन नपराउनेहरू धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताएकी छन् ।

शुक्रवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान गणतान्त्रिक व्यवस्थालाई मन नपराउनेहरू नै धार्मिक र साम्प्रदायिक द्वन्द्व निम्त्याउन संलग्न रहेका बताएकी हुन् ।

उनले यस प्रकारको द्वन्द्व निम्त्याउन उनीहरूले नै प्रेरित गरिरहेका बताइन् । उनले धार्मिक, सामाजिक सद्भाव कायम गर्नुपर्ने र त्यसका निम्ति सकारात्मक बाटो देखाउनुपर्नेमा जोड दिइन् । द्वन्द्व निम्तिन नदिन सबै राजनीतिक दलहरू र नागरिकहरू एक ठाउँमा उभिनुपर्ने बताइन् ।

उनले भनिन् ‘के देखिन्छ भने कतै न कतैबाट केही भइराखेको छ भन्ने एउटा प्रश्न चाहिँ अहिले उठिरहेको छ । किनभने यो राज्य प्रणालीलाई, अहिलेको गणतान्त्रिक व्यवस्थालाई मन नपराउनेहरू कतैबाट उक्साहटमा त लागिराखेका छैनन् ? यो राज्य व्यवस्थालाई जसले विभिन्न ढंगले आक्रमण गर्न अगाडी बढिराखेका छन् हामीले सदनमा हेरौँ या सडकमा हेरौँ । हामी कतैबाट हेर्दाखेरि पनि जो बोलीहरू यहाँ उठिरहेका छन् यिनी कुराहरूले कतै न कतै प्रेरित गरेको छ जस्तो लाग्छ मलाई । यो भड्काउने खालको जुन षड्यन्त्र भइराखेको छ, यतातिर जान नदिनको निम्ति सबै सचेत नागरिक र सबै राजनीतिक दलहरूले एक ठाउँमा उभिनका लागि र मिलेर सद्भाव कायम गर्नको निम्ति हामीले सकारात्मक बाटो देखाउन जरुरी छ । त्यता लाग्न जरुरी छ । धार्मिक द्वन्द गराउने प्रयत्नमा पछाडिबाट को उभिएको छ, यो राज्यले चिन्न जरुरी छ । जसले अहिलेको गणतान्त्रिक राज्य व्यवस्थालाई खासगरी मन पराइराखेका छैनन् त्यस्ता तत्त्वहरूको कतै न कतै संलग्नता हुनसक्छ ।’

सांसद शर्माले द्वन्द्व फैलाउन पर्दा पछाडि उभिएकाहरूलाई राज्यले चिन्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =