धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको छ : सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन् ।
शुक्रवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको बताएका हुन् ।
उनले समाजमा नियोजित रूपमा अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने स्थिति निर्माण भएको उल्लेख गर्दै यसप्रति सतर्क र गम्भीर हुनुपर्ने बताए ।
उनले भड्काऊ अभिव्यक्तिलाई सरकारले बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
उनले भने ‘अन्तर्जातीय भाइचारा र धार्मिक द्वन्द्व मच्चाउने खालका जुन कुरा भएका छन्, त्यसमा हामी सबै सतर्क हुनुपर्छ । यसलाई उसलाई भनेर दोष लगाउने स्थिति छैन । समाजमा नियोजित रूपले अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने खालका जुन स्थितिहरू निर्माण भएको छ त्यसमा राष्ट्रिय रूपबाट नै सतर्क हुनुपर्ने आवश्यकता छ । सरकार समयमै गम्भीर हुनुपर्यो । संविधानले नै निषेध गरेको प्रतिबन्धात्मक क्षेत्रहरूमा कहीँ कतैबाट भयो भने जुनसुकै पद र दायित्वमा बसेका हुन् हिंसात्मक द्वन्द्व अथवा धार्मिक र जातीय द्वन्द्व निम्त्याउने खालको सामाजिक सञ्जालमार्फत जुन किसिमको प्रक्रिया सुरु भएको छ त्यसलाई सुरुमै सरकारले नियन्त्रण गर्नुपर्थ्यो गर्न सकेन । यसकारण त्यो वृद्धि हुँदै गयो । स्वस्फुर्त भन्दिन म यसलाई । कहिबाट उचालिने, कहिबाट प्रोत्साहित गर्ने र द्वन्दलाई अरू चर्काउने खालको कोशिसहरुभइरहेको छ । त्यतातिर हामी गम्भीर हुनुपर्छ नत्र यसले असङ्गठित विद्रोह र अराजकताको स्थितिमा देशलाई डोहोर्याउँछ ।’
सांसद केसीले कसैबाट उचालिएर द्वन्द्व चर्किएमा देशमा असङ्गठित विद्रोह र अराजकताको स्थिति आउने बताए ।








