सरकारको कारण मुलुकमा अराजकता र अनुशासनहीनता बढ्यो : सचेतक बर्तौला

काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानुन अनुसार हिँड्न नसकेका कारण मुलुकमा अराजकता बढेको बताएका छन् ।

शुक्रवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार संविधान र कानुन बमोजिम हिँड्न नसकेको बताएका हुन् ।

उनले सरकारले देशलाई स्थिरता र सुशासनतर्फ लान नसकेको पनि बताए । उनले सरकारकै कारण देशमा अराजकता र अनुशासनहीनता बढेको बताए ।

सचेतक बर्तौलाले स्वच्छन्दता र अराजकता बढेको कारणले गर्दा देशमा साम्प्रदायिक द्वन्द्व र हिंसाहरू भड्किन थालेको बताए । प्रधानमन्त्रीले नै जातीय पहिचानको आधारमा राज्य निर्माण गरिदिने अभिव्यक्ति दिन थालेपछि त्यसको असर स्वरूप विभिन्न भड्कावहरु देखिन थालेको उनको भनाई छ ।

उनले भने ‘मुख्य कुरा सरकार संविधान र कानुन बमोजिम हिँड्न सकेन । सरकारको नालायकीपन हो । सरकारले देशलाई स्थिरतातर्फ, सुशासनतर्फ लाने सामर्थ्य राख्न सकेन । त्यसकारणले गर्दा यो समस्या आएको हो । किनभने सबैतिर अराजकता भयो । स्वच्छन्दता भयो । अनुशासनहीनता भयो । यसको कारण जनताहरूले जहाँ जे गरेपनि हुन्छ भन्ने ठाउँमा पुग्यो । जसको कारणले गर्दा साम्प्रदायिक द्वन्द्वहरु, हिंसाहरू भड्किन थाले । हामीमा जातीय, धार्मिक सद्भाव छ । यस बमोजिम हामी अगाडी बढिरहेका थियौँ तर सरकारका प्रधानमन्त्री स्वयम् ०८४ सालको निर्वाचनको अहिल्यै भोट माग्दै, ०८४ सालमा हामीलाई बहुमत दिनुस्, हामी जातीय पहिचानको आधारमा राज्य निर्माण गरिदिन्छौँ भन्नुहुन्छ । त्यसको असर अर्को धर्ममा पर्छ । अर्को समुदायमा पर्छ । अर्को क्षेत्रमा पर्छ । एवम् रितले आगो विभिन्न हिसाबले सल्किन थाल्यो । भुसको आगो सरह सल्किन थालेको छ । यसले समग्र देशको, हामी मिलेर बसेको समाजलाई नै असहजतातर्फ लान खोजेको चिन्ता व्यक्त गर्ने ठाउँमा हामीलाई पु¥याएको छ । यसको मुख्य कारण सरकार हो ।’

उनले सरकार संविधान र कानुन अनुरूप हिँडेर जबाफदेही बनेमा देशको अराजकता र अस्थिरता नियन्त्रण गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =