प्रचण्ड सरकार टिकाउन जस्तो सुकै सम्झौता गर्न तयार छन्ः सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले मुलुक धार्मिक युद्धतफ जान सक्ने खतरा देखिएको बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारले सुरुदेखि नै संविधानलाई किर्ते गर्ने काम गरेको बताउनु भयो । उहाँले सरकार कमाउ धन्दामा लागेको आरोप लगाए ।

उनले सरकारको संलग्नतामा कयौँ मेट्रिक टन चिनी अवैध ढङ्गबाट कालोबजारी भइरहेको बताए ।

उनले सरकारको नालायकीपनले मुलुक अप्ठ्यारोमा फसेको पनि बताए ।

उनले भने, ‘यो सरकारले संविधानलाई किर्ते गर्ने काम सुरुदेखि नै गरेको छ । नागरिकता विधेयकका नाममा, अघिल्लो सांसदले अघिल्लो सभामुखले, अघिल्लो राष्ट्रपतिलाई पठाएको विषयलाई वर्तमान संसद्लाई छलेर यो सरकारले वर्तमान राष्ट्रपतिलाई किर्ते गर्न लगाएको छ । आज मुलुकको हर क्षेत्र तहसनहस भएको छ । अर्थतन्त्र डामाडोल भएको छ । साम्प्रदायिक द्वन्द्व एकपछि अर्को बढ्न थाल्यो । धार्मिक युद्धतर्फ मुलुक जान सक्ने खतरातर्फ गइसक्यो । यो खालको चरम बेथिति छ । कमाउ धन्दामा मन्त्रीहरू लागेका छन् । तीन थरी मन्त्री छन् यहाँ, एकथरी घरमा सुतेर बस्ने, बच्चा बच्ची हेरेर आनन्द मानेर बसेका छन् । एकथरी सुतेर बसेका छन् । कसैलाई मतलब नै छैन । एक थरीलाई सामाजिक पहिचानको पद भएको छ मन्त्री । अर्को थरी सेटिङ गरेर कसरी कमाउने भन्ने धन्दामा छन् । अर्को थरी राजनीतिक स्टन्ट र प्रचारबाजीका छन् । सरकारको संलग्नतामा आज कयौँ मेट्रिक टन चिनी अवैध ढङ्गबाट कालोबजारी भइरहेको छ । सरकारको नालायकीपनले मुलुक अप्ठ्यारोमा फसेको छ ।’

सचेतक बर्तौलाले सत्तासीन दलका कार्यकर्ता छानिछानी सरकार टिकाउनका लागि क्रुरताकासाथ सरकारले मानव अधिकार उल्लङ्घनका दोषीलाई कैद मिनाहा गरेर छुटाइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =