संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाऔँ : सांसद सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद बैठकमा राजनीतिक कुराहरू र एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने कुराहरू मात्रै हुन थालेको भन्दै त्यसो गर्नु नहुने बताएका हुन् । उनले संसदले कानुन बनाउने कुराभन्दा राजनीतिक कुराहरूमा नै समय खर्च गरेको भन्दै अब संसद र सांसदहरू जिम्मेवार हुनुपर्ने बताए ।
उनले संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन सांसदहरूलाई आग्रह गरे । संसदभित्र जनताका कुराहरू, संविधान र कानुन निर्माणका कुराहरूलाई जोड दिइनुपर्ने बताए । उनले राजनीतिक कुराहरू सर्वदलीय बैठक गरेर भन्ने गर्नुपर्ने बताए ।
सांसद सापकोटाले संसदलाई राजनीतिक कुण्ठा व्यक्त गर्ने थलो बनाउनु नहुने बताए ।
उनले भने ‘हामी जिम्मेवार हौँ । हामी धेरै प्रतिक्रियाको राजनीति गर्ने थलो संसदलाई नबनाऔँ । अरू धेरै राजनीतिक कुराहरू सर्वदलीय बैठकको आयोजना गरेर त्यहाँ भन्ने गरौँ । संसदभित्र जनताका कुराहरू, संविधान र कानुन निर्माणका कुराहरूलाई जोड दिएर अगाडी लगियोस् । संसदलाई धेरै राजनीतिको कुण्ठा व्यक्त गर्ने थलो, एकले अर्कोलाई नांगेझार पार्ने चिज नबनाऔँ । समाजलाई अनुशासित बनाउने हो भने, सामाजिक सञ्जालमा व्यक्त भइराखेका उश्रृंखलताहरुलाई हामीले नियमन गर्ने हो भने सबभन्दा पहिला सबै नीतिहरूको माउ नीति राजनीति हुनुका नाताले राजनीतिज्ञहरू ज्यादा अनुशासित हुनुपर्दछ । शीर्ष नेताहरू ज्यादा अनुशासित हुने, जिम्मेवार हुने र सिङै देशलाई एउटा सन्देश दिने र देशलाई कमान्डमा लिनका निम्ति उहाँहरू स्वः अनुशासित हुनुपर्दछ । किन त्यसो भएको होला ?’
उनले देशमा जातीय तथा साम्प्रदायिक घटनाहरू घटिरहेका भन्दै यसप्रति सचेत हुनुपर्ने बताए । समाजलाई अनुशासित बनाउन राजनीतिज्ञहरू बढी अनुशासित हुनुपर्ने भन्दै उनले यसप्रति शीर्ष नेताहरूको ध्यानाकर्षण गराए ।








