प्रधानमन्त्रीको चीन भ्रमणबारे सांसद पन्तको टिप्पणी : ‘हात्ती आयो, हात्ती आयो फुस्सा’

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीले चीन भ्रमणबाट महत्वपूर्ण अवसर गुमाएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा आर्थिक, भौतिक संरचनाको विकासमा कोशेढुंगाको भूमिका खेल्ने अपेक्षा गरिएको भएपनि त्यसो हुन नसकेको बताए ।
उनले प्रधानमन्त्रीको चीन भ्रमण ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तो भएको टिप्पणी गरे । भ्रमणका क्रममा मुलुकको अग्रगति, उन्नति र गरिबी हटाउनका लागि कुनै आयोजना कार्यान्वयन हुन नसक्नु दुःखद भएको बताए ।
उनले भने ‘प्रधानमन्त्रीले एउटा महत्वपूर्ण अवसर चीन भ्रमणमा मुलुकको विकासको लागि, मुलुकको अग्र गतिको लागि, मुलुकको उन्नतिको लागि, यो देशका जनताको गरिबी हटाउनका लागि यो मुलुकलाई विकासको बाटोमा अगाडी बढाउनका लागि र केपी ओलीको पालामा प्रस्तावित भएका ९ वटा योजनाहरूलाई कार्यान्वयन गर्ने मौका चुकाउनु भयो । यो देशका लागि अत्यन्त दुःखद कुरा हो ।’
उनले नेपालको प्रधानमन्त्रीले एमसीसीका कार्यकारी निर्देशकसँग उभिएर एमसीसी कार्यान्वयन शुभारम्भ हुने कार्यक्रमको उद्घाटन गर्नु कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी पनि गरे ।








