ल्हारक्याल लामा माओवादीकै नेता भएकाले नियुक्ति गर्न सहज भयोः मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रीय सदस्य भएकाले सहज भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदले सोधका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले लामा नेकपा (माओवादी केन्द्र) का सदस्य भएको र गुम्बा विकास समितिको अध्यक्ष भइसक्नुका साथै एमाले र माओवादी पार्टीबाट पनि पटक पटक मन्त्री र सांसद भइसकेकाले पनि योग्य व्यक्ति भएको बताए ।

उनले २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेको बताए ।

उनले भने ‘लुम्बिनी विकास कोषको उपाध्यक्षको नियुक्तिको सन्दर्भमा उहाँलाई २०४२ को दफा ८ को ख बमोजिम नियुक्ति गरेका छौँ । उहाँ कसको प्रभावले भन्दा पनि बिना कसैको प्रभाव दबाब बिना खुसीले नियुक्ति गरेको हुँ । गिरिजाबाबुको पालामा उहाँ गुम्बा विकास समितिको अध्यक्ष भइसकेको मान्छे, एमालेको पालामा आएर संविधान सभाको सदस्य, पूर्वअर्थराज्यमन्त्री भइसकेको, माओवादीतिर आइसकेपछि पनि पटक पटक सांसद, भइसकेको मान्छे उहाँलाई लागेको आरोप राज्यका सबै अङ्गले प्रमाणित नगरेको र लागेको आरोप पुष्टि नभइसकेपछि मान्छे अभियुक्त हुँदैन । अभियुक्त नभएकाले नेपालको कानुन बमोजिम नियुक्त गरेको हो । हाम्रो पार्टीको केन्द्रीय सदस्य भएकाले पनि नियुक्तिका लागि सजिलो भयो ।’

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहेपनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताए । उनले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताए ।

उनले इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुने गरी निगम नाफामा नभए पनि आफू आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको दाबी गरे ।

उनले भने ‘वायुसेवा निगमको इतिहास लामो छ । हामीसँग धमिजा, लाउडादेखि लिएर ठूला ठूला काण्डहरू व्यहोर्दै आएको यो आफैँमा ४८ अर्ब ऋण छ । कोभिड कालमा पनि विभिन्न ठाउँबाट रेस्क्यु गर्दा जहाज नै अघि सरेको थियो । हामी मन्त्रालयमा आइसकेपछि ४ अर्ब ऋण तिरेका छौँ । पहिलो पटक २ अर्ब ९४ करोड र पछिल्लो समय १ अर्ब र अहिले पनि हामीसँग १ अर्ब ६५ करोड पैसा छ । साना जहाज खरिद प्रक्रियामा हामी अघि बढेका छौँ । इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुने गरी नाफा हुने कुरा भएन हामीसँग ६ वटा मात्रै जहाज छ, हामी आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको छ ।’

उनले चिनियाँ जहाँज अहिले पनि घाटामा रहेको बताए । उनले चिनियाँ जहाजमा पार्टपूर्जाको समस्या र पार्टपुर्जा लिन पनि बर्सौँ लाग्ने गरेको भन्दै चिनियाँ जहाँज घाटामा रहेको बताए । उनले रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै रहेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने ‘चिनियाँ जहाजको सन्दर्भम यो हामी आएर बन्द गरेको होइन । अघिल्लो सरकारले नै तलदेखि पारित गर्दै लगेर अर्थ मन्त्रालय हुँदै नेपाल सरकारले नै नउडाउने भनेर बन्द गरेको हो । चिनियाँ जहाज नेपालमा ल्याइयो, त्यसपछि यसको पाइलट, प्रशिक्षक पाइलट नभएको, पार्टपुर्जा नभएको, बिग्रिँदा पार्टपुर्जा पाउन बर्सौँ लाग्ने, त्यसै पनि हवाई क्षेत्रमा सङ्कट नै छ । रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै छ । सम्पूर्ण चिज नपाउने र धेरै नै घाटा लाग्ने भएकाले इन्स्योरेन्स पनि महँगो, अहिले राख्दा पनि इन्स्योरेन्स तिर्नु परिरहेको छ । पार्किङ चार्ज तिर्नु परिरहेको छ, घाटामै छ । लिजमा राख्दा पनि कोही आएन । भालुका कन्पट जस्तो भएको छ। युरोपमा नेपालको कालोसूची हट्नेकुरा सेती नदीको खोचमा यति एयरलाइन्सको दुर्घटना भएकाले रोकिएको थियो । हालै ११ देखि १५ सेप्टेम्बरमा युरोपियन युनियनको अडिट कमिटीले अडिट गरेको छ, चाँडै सकारात्मक नतिजा आउँछ ।’

मन्त्री किराँतीले युरोपियन युनियनको कालोसूचीबाट नेपाल चाँड नै हट्नेमा आशावादी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =