एमाले गण्डकी अधिवेशनः अध्यक्षमा शर्मा र अधिकारीको उम्मेदवारी

काठमाडौं । एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको मनोनयन दर्ता सूचीअनुसार १ सय ६५ पदमा ३ सय ८२ जनाको उम्मेदवारी परेको छ ।

शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर बिक र महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारीको उम्मेदवार छन् ।

अधिकारीको प्यानलतर्फ उपाध्यक्षमा पूर्वी नवलपरासीका बाबुराम विश्वकर्मा, सचिवमा कास्कीका रश्मी आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र महिला उपसचिवमा कास्कीकी मिना गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा स्याङ्जाका अर्जुनकुमार सुनामले मनोनयन दर्ता गराएका छन् ।

निवर्तमान अध्यक्ष शर्मालाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ । केन्द्रीय सदस्य अधिकारीको प्यानललाई स्थायी समिति सदस्य खगराज अधिकारीले साथ दिएका छन् । अध्यक्षका दुवै उम्मेदवारले प्यानल बनाएर चुनाव नलडेको दाबी गरेका छन् ।

सोमबार उद्घाटन भएको अधिवेशनमा नेतृत्वमा सहमति जुट्न नसक्दा बुधबार पनि निर्वाचन प्रक्रिया नटुंगिएको हो ।

बुधबार साँझसम्म दाबी÷विरोधपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र बिहीबार बिहानबाट मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए ।

विद्युतीय मतदान हुने भएकोले बिहीबार बेलुकासम्म परिणाम सार्वजनिक हुने उनको अनुमान छ ।

अधिवेशनमा ११ जिल्ला र जनसंगठनबाट प्रतिनिधिका रुपमा आएका ९ सय ७ प्रतिनिधिले मतदान गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =