संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइन : सांसद पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले संसदमा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पौडेलले एमाले अध्यक्ष ओलीको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका हुन् । उनले ओली गणतन्त्र विरोधी भएको र आफूहरूले जनयुद्ध गरेकै कारण गणतन्त्र आएको भन्दै जनयुद्धको विरोध गर्नु उपयुक्त नहुने बताए ।
उनले ओलीले संसदमा देवदुतले जस्तोगरी उपदेश दिने गरेको भन्दै टिप्पणी गरे । ओलीले संसदीय गणितमा आफू अल्पमतमा परेको भावना मात्रै अभिव्यक्ति गर्ने गरेको उल्लेख गरे ।
उनले भने ‘जतिबेला उहाँले नेपालमा गणतन्त्र सम्भव छैन । गणतन्त्रको यात्रा गर्नु भनेको बयलगाढा चढेर अमेरिका जाने हो भन्ने कुरा गर्नुहुन्थ्यो त्यही बेलामा नेपालमा राजतन्त्रको अन्त्य सम्भव छ । संविधान सभाबाट संविधान बन्नुपर्छ । नेपालको राज्य प्रणाली सङ्घीयता सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ भनेर हामी आन्दोलनमा थियौँ । त्यो आन्दोलनलाई निकै नकारात्मक रूपमा उहाँले चित्रण गर्नुभयो । भगवानले पठाएको देवदुत जस्तोगरी उहाँहरूले उपदेश दिने गर्नुहुन्छ बेलाबखत । यो निरन्तरताको शैली बाहेक केही होइन । कुनै भिजन, दृष्टिकोण भन्दापनि गणितमा आफू अल्पमतमा परेको र सरकार सञ्चालन गर्न नपाएको भावनाको प्रकटीकरण हो । संसदमा गणित नपुगेको असन्तुष्टिको पोको हो । त्यसको आक्रोश बाहेक केही होइन ।’
उनले संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही नभएको टिप्पणी गरे ।








