चित्रबहादुर केसीको प्रश्न–ओलीले दुई घण्टा बोल्दा नयाँ कुरा के आयो ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्रीहरुलाई संसदमा बोल्न दिने समयबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् ।
संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब २ घण्टा सम्बोधन गरेकोप्रति लक्षित गर्दै उनले पूर्वप्रधानमन्त्री र पूर्वसभामुखहरुलाई जति मन लाग्यो, त्यति समय बोल्न पाउने व्यवस्था गर्न नहुने बताए ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष केसीले ओलीले दुई घण्टा संसदमा सम्बोधन गर्दा के नै नयाँ कुरा आयो र ? भनी प्रश्न समेत गरे । उनले अपराधीहरूलाई पनि आममाफी दिने काम गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलप्रति पनि असन्तुष्टि व्यक्त गरे ।
अध्यक्ष केसीले भने ‘पूर्व प्रधानमन्त्रीहरूलाई, पूर्वसभामुखहरुलाई जति मन लाग्छ, त्यति बोल्न दिन मिल्छ ? अरू सबै त्यही सुन्न मात्रै आएको हो ? दुई घण्टा बोल्दाखेरि नयाँ कुरा के नै आयो उहाँको ? त्यसकारण यसमा चाहिँ विचार गर्नु पर्छ । मेरो यो एउटा कुरा । दोस्रो कुरा, राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा, संविधान दिवसको अवसरमा फौजदारी मुद्दा लागेका अपराधीहरूलाई जुन मिनाहा दिने काम भयो, यो अत्यन्तै गलत काम छ । यो राजनीतिक पार्टीहरूको, सत्ताधारीहरूको सिफारिसमा जे सिफारिस आउँछ, त्यो मैले मान्नु पर्छ भनेर सम्माननीय राष्ट्रपतिज्यूले विवशता प्रकट गर्नुभएको छ । यदि कार्यकारीले सिफारिस गरेर हरेक प्रकारका ज्यानमाराहरू, अपराधीहरूले छुट पाउने हो भने न्याय पालिका किन चाहियो र ? अव अर्को कुरा न्याय क्षेत्रको गति भन्नुस् । १५ जना न्यायाधीश हुनका लागि जाँच दिएको रे । एक जना पास भएको । अरू फेल भएका । तीनै फेल भएकालाई न्यायाधीश नियुक्त गर्ने रे । हेर्नुस् ? यो लाजमर्नु । के भन्छ दुनियाँले ? यही हो लोकतन्त्र ? यही हो प्रजातन्त्र ? जघन्य अपराध गरेका अपराधीहरूलाई न्यायालयले सर्वस्वसहित जन्मकैद गरेपछि कार्यकारीले सिफारिस गरेपछि उसले छुट पाउने । यही हो लोकतन्त्र, यही हो गणतन्त्र ? ’
अध्यक्ष केसीले जघन्य अपराधमा संलग्नहरूलाई पनि सरकारको सिफारिसमा कैद मिनाहा गर्ने कुरा लोकतन्त्रका लागि लाजमर्दो विषय भएको बताए ।








