गठबन्धनका नेता जोगाउन रुमालले होइन गम्छाले पसिना पुछ्नु पर्‍योः ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती दिएका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिएका हुन् । उनले ललिता निवास जग्गा प्रकरणको फाइल खोलेपनि बन्द गर्न सरकारलाई निकै गाह्रो परेको बताए ।

सत्ता गठबन्धनका मान्छे परेपछि उनीहरूलाई जोगाउनका लागि सरकारले पसिना छुटाउनु परेको बताए । उनले यो र त्यो फाइल खोल्छु भनेर प्रतिपक्षलाई तर्साउन लागेको भन्दै सरकारको ब्ल्याकमेलिङबाट आफूहरू नतर्सिने बताए ।

उनले भने ‘सरकारमा बसेर यो फाइल खोल्छु, त्यो फाइल खोल्छु, त्यो खोलिन्छ । आफ्नो एउटा समर्थक पत्रकारलाई सोध्न लगाइन्छ, फलानो फाइल खोल्नुहुन्छ कि खोल्नुहुन्न ? खोल्छु भनेर । खोल्नुस् फाइल । कुन कुन फाइल हो खोल्नुस् । खुलेका फाइलका यो छ तपाईँहरूको हालत । निकै चर्कोसँग बालुवाटारको ललिता निवासको फाइल खोलिन्छ, त्यो फाइल बन्द गर्न क्या गाह्रो प¥यो हगि ? फाइल त खोल्नुभयो । तर बन्द गर्न कस्तो गाह्रो प¥यो । सत्ता गठबन्धन परेपछि त त्यसलाई कसरी जोगाउने ? आहा पसिना आएको त्यतिबेला । रुमालले पुगेन । गम्छा लिएर पुछ्नु परेको थियो तपाईँहरूलाई पसिना । त्यति गाह्रो पसिना छुटाएको थियो । यही सुन काण्डले तपाईँहरूलाई कति हैरान पारेको छ ? ३ जनाको आयोग बनाउने भन्ने थियो । नराखी नहुने आफ्ना खालका मान्छेहरू परे होलान् । ४ जना राख्नु परेछ फेरि । यो सबै ब्ल्याकमेलिङ त हो नि । तर्साएको त हो नि । प्रतिपक्षलाई तर्साएको । मेरो नाउँमा त बारी बारीमा बुख्याँचा राख्नुभएको छ तपाईँहरूले । तर तपाईका बुँख्याचाले काम गर्दैनन् भन्ने कुरा म भन्न चाहन्छु किनभने यो केही नबुझ्ने चराहरूलाई बुँख्याचाले काम गर्ला । हामीजस्तो राजनीतिक मैदानमा लडेर आएका, देश र जनताका लागि लडेर आएका, जेलनेल खटेर, ज्यान हत्केलामा राखेर त्यसरी आएका, देशप्रति समर्पित म भ्रष्टाचार गर्दिन, अरूलाई गर्न दिन्न भनेर सार्वजनिक प्रतिवद्धताका साथ काम गरेका हामीहरूलाई यस्ता ब्ल्याक मेलिङहरुले काम गर्दैन ।’

अध्यक्ष ओलीले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा सबै राजनीतिक दलहरूलाई एकताबद्ध हुन आग्रह गरे । उनले राष्ट्र हित, विकासका प्रयासहरू, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताका विषयहरूमा एकजुट हुनुपर्ने बताए । त्यस्तै राजनीतिक उपलब्धिहरू र संविधानको रक्षा गर्न पनि सबै एकजुट हुनुपर्ने उनको भनाई छ । अध्यक्ष ओलीले परराष्ट्र नीतिको सम्बन्धमा राष्ट्रिय दृष्टिकोण बनाएर स्थायित्व दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =