विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउँछु : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गरेका छन् ।
सोमवार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सकहरू पठाएको र यो काम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गरे ।
उनले चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको र त्यसको लागि विशेष बजेट ल्याउने पनि बताए । उनले गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही भए आफूलाई सम्पर्क गरे आफूले उपचार गरिदिने बताए ।
उनले भने ‘दुर्गम ठाउँमा डाक्टर, स्वास्थ्यकर्मी छैनन् । मैले कसैको कुरा नसुनेर गाउँमा पठाइदिएको छु । यो इतिहासमै पहिलो पटक हो नेपालमा । दरबन्दी एक चौथाइ मात्रै छ । चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा लागिरहेको छु । पैसा विनियोजन छैन, विशेष बजेट ल्याएर भनेपनि गर्ने हो । संविधानमा लेखिए जस्तै हामीले काम गर्नुपर्छ । अब नेपालमा उपचार गर्न नसकेर हस्पिटलको बरण्डाबाट आत्महत्या गरेर कोही पनि बिरामी मर्नु पर्दैन, घर फर्किनु पर्दैन, गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही मान्छे फेला पारे मलाई जिम्मा लगाइदिनुस्, म निःशुल्क उपचार गर्छु । हामी सुधारको प्रक्रियामा लागेका छौँ ।’
उनले अहिंसात्मक माध्यम र तौर तरिका अपनाउन नसके समाजमा राम्रो नहुने बताए ।








