अख्तियार प्रमुखले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन, ७६६ जनाविरुद्ध मुद्दा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा आ.व २०७९/ ८० को प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियारले हरेक आर्थिक वर्षको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्छ ।

आर्थिक वर्ष २०७९ र ८० मा आयोगमा विभिन्न माध्यमबाट २० हजार ९०५ वटा उजुरी परेका छन् । अघिल्लो आवबाट छानबिन बाँकी रहेका सातहजार १६२ उजुरी गरी कुल २८ हजार ६७ उजुरी थिए ।

आयोगका अनुसार सबैभन्दा बढी स्थानीय तहका मात्रै ३५.९५ प्रतिशत छन् ।

आयोगबाट १८ हजार ७९९ (६६.९८ प्रतिशत) उजुरी प्रारम्भिक छानबिनबाट फर्स्योट गरिएको छ । यीमध्ये एकहजार १३३ उजुरीउपर विस्तृत अनुसन्धान भइरहेको र सातहजार ८६९ उजुरी तामेली गरिएको र १५२ उजुरी सुझावसहित तामेली र ९ हजार ६४५ उजुरीउपर कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको अख्तियारले जनाएको छ ।

गत आवमा बाँकी ९ हजार २६८ उजुरी नयाँ आवमा सरेर प्रक्रियामा गएको आयोगले जनाएको छ ।

विस्तृत अनुसन्धान भइरहेकामध्ये ८७८ उजुरीका सम्बन्धमा आयोगबाट ९३७ पटक निर्णय भएको र १६२ वटा मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर भएको छ । यस्तै, ६५६ उजुरी तामेली र ६३ मा सुझाव दिइएको र २७ वटा फाइललाई मुलतवीमा राखेको आयोगले जनाएको छ ।

अख्तियारका अनुसार विशेष अदालतमा दायर भएकामध्ये ६४ वटा गैरकानुनी लाभ हानी, घुससँग सम्बन्धित ३२ र सार्वजनिक सम्पत्तिको हानी २७, गैरकानुनी सम्पत्ति आर्जनमा १३ र शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका ८ र राजस्व चुहावटका ७ र विविध ११ वटा रहेका छन् ।

जसमा ७६६ जनालाई प्रतिवादी बनाएर एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =