गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण

नेपालगञ्जका ’रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीले तीन बुँदे ध्यानाकर्षण गराएको छ ।
पार्टी सभापति रवि लामिछानेसहितका नेताले सोमबार राष्ट्रपति पौडेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पत्रमा सजाय माफीसम्बन्धी कानुन निर्माण गर्दा विधायकले राखेको मनसायलाई मनन गरी संवैधानिक तथा कानूनी व्यवस्थाको पालना गर्न÷गराउन सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई आग्रह गरिएको छ ।
त्यस्तै, सजाय माफी, मुलतबी, परिवर्तन र कम गर्न कानूनले नै निषेध गरेका व्यक्तिको स्वार्थ प्रेरित रिहाइलाई रोकी राज्यमा कानुनी राज्य, शान्ति सुव्यवस्था र न्यायको प्रत्याभूति आम जनतामा अनुभूत गराउन आवश्यक कानूनी व्यवस्था स्थापना तथा परिमार्जनका लागि सरकारको ध्यानाकर्षण गराउन पनि भनिएको छ ।
तेस्रोमा सरकारबाट भएका सिफारिस संविधानसम्मत भए÷नभएको सन्दर्भ यकिन गरी मात्र अनुमोदनका लागि पठाउन सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।
‘नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक व्यवस्थाको सर्वोच्च निकायका रूपमा रहेको यस संस्थाको गरिमा र महिमाको रक्षा गर्न सम्माननीयज्यू स्वयं समेत सजग रहनुहुन सादर अनुरोध गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘संवैधानिक सर्वोच्चता, विधिको शासन र कानुनी राज्यको व्यवहारिक प्रत्याभूतिका लागि र सरकारले राजनीतिक मनशायका साथ गरेका सिफारिस र गलत निर्णयको बोझले राष्ट्रपति जस्तो सम्मानित संस्थामा निरन्तर परिरहेको अबगाल न्यूनीकरण र नियन्त्रणमा यहाँबाट सकारात्मक पहलकदमी तथा विवेकपूर्ण निर्णयको अपेक्षा पनि गर्दछौं।’
चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका ‘रिगल’ भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो । ढकाल तरूण दलका नेतासमेत हुन् ।










