प्रहरीसंग अनमोलले भने : मन नपरेको फिल्म खेल्दिनँ भन्दा उजुरी हालेर म माथि अन्याय गरियो

काठमाडौँ । नायक अनमोल केसीले चलचित्र ‘रावायण’को स्क्रिप्ट नै मन नगरेपछि फिल्म खेल्दिनँ भन्दा पनि निर्देशक/निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्स खातामा आएको पैसा पनि फिर्ता लैजान नमानेको बताएका छन् ।

उनले फिल्म खेल्न भनेर हस्ताक्षर नै नगरेको बताए । उनले स्क्रिप्ट मन नपरेकाले फिल्म खेल्न तयार नभएको बताउँदै आफ्नो खातामा हालिदिएको १० लाख रुपैयाँ पनि फिर्ता लैजान भन्दा निर्माता पक्ष नमानेको बताए।

उनले भने ‘त्यसबेलासम्म मैले फिल्म खेल्ने भनेर हस्ताक्षर गरेकै थिइनँ। सम्झौता नै नभएको अवस्थामा मेरो खातामा आएको पैसा फिर्ता लैजानु भन्दा पनि उनीहरू मानेनन्।’

अनमोलले आफ्नो खातामा आएको १० लाख फिर्ता दिन खोज्दा निर्माता पक्षले लैजान अस्वीकार गरेको अवस्थामा आफू विरुद्ध उल्टै अन्याय गरिएको बताएका छन्।

उनले निर्माता पक्षले प्राविधिकसहितलाई भुक्तानी गरेको १ करोड ५ लाख रुपैयाँसमेत आफूबाट तिराउन खोज्नु अन्याय हुने पनि बताएका छन्। फिल्म खेल्न सम्झौता नै नभएको अवस्थामा आफ्नो खातामा आएको पैसा उतिबेलै फिर्ता लानु भन्दा नमानेका निर्माता पक्षले थप १ करोड ५ लाख तिराउन खोजेको उनको गुनासो थियो।

‘मैले फिल्ममा हस्ताक्षर गरेकै थिइनँ। तापनि निर्माताले मेरो खातामा हालेको पैसा लैजानु भनिसकेको थिएँ। पछि प्राविधिकसहित अरूलाई दिएको १ करोड ५ लाख पनि मैले नै दिनुपर्ने भनेछन्’, उनले प्रहरीसँग भनेका छन्, ‘मन नपरेको फिल्म खेल्दिनँ भन्दा उजुरी हालेर अन्याय गरिएको छ।’

शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलान्चोकको साँगाबाट पक्राउ गरेपछि केसीलाई आइतबार काठमाडौं प्रहरी परिसरको कार्यालय टेकुमा लगिएको थियो।

चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर अन्तिम अवस्थामा धोका दिएको भन्दै केसीविरुद्ध निर्देशक/निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्सले उजुरी हालेको थियो।

पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले यसअघि नै केसीविरुद्ध पक्राउ पुर्जी लिइसकेको थियो।

उजुरी आएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाएको थियो।

तर उनले अटेरी गर्दै फिल्म सुटिङमा लागेका थिए। उजुरीबारे छलफलका लागि प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएपछि प्रहरीले पक्राउ पुर्जी लिएर उनलाई शुक्रवार पक्राउ गरेको हो।

अनमोललाई चिरायु अस्पतालबाट आइतबार मध्यान्ह काठमाडौं परिसर लगिएको थियो। जहाँ जाहेरवालाहरू पनि आएर छलफल हुने अपेक्षा थियो। तर उनीहरू त्यहाँ आउँदै आएनन्।

अनमोललाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी कुमोद ढुंगेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *