स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ : गृहसचिव भट्टराई

काठमाडौँ । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा कार्य गराउन गृह प्रशासन तयार रहेको बताएका छन् ।
शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीलाई पूर्ण रूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार रहेको बताए । उनले चिकित्सकहरूमाथि विभिन्न ठाउँमा आक्रमण भएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाही गरिने बताए ।
उनले चिकित्सकहरूका जायज माग सम्बोधन गर्न सरकार सधैँ तयार रहेको भन्दै वार्ता, संवादद्वारा हुनसक्ने दीर्घकालीन नीतिगत र संरचनागत प्रबन्धद्वारा हुने विषयलाई सडकमा आएर सेवा अवरुद्ध गर्न जरुरी नभएको बताए । उनले स्वास्थ्यकर्मीमाथि भएका घटनाहरूमा प्रचलित कानुनले दिएको सीमा र परिधिभित्र रहेर कानुन बमोजिम कारबाही अघि बढाइएको बताए ।
उनले भने ‘घटनाहरू विभिन्न ठाउँमा भए । मैले भनेकादेखि बाहेकका ठाउँमा पनि घटेका छन् । ती घटनाहरूमा प्रचलित कानुनले दिएको सीमा र परिधिभित्र रहेर कानुन बमोजिम कारबाही गर्ने र दोषीलाई कानुनले तोकेको प्रक्रिया अपनाएर जस्टीसमा ल्याउन समग्र प्रशासन तयार छ । हामी विधिको शासनभित्र छौँ । विधिको शासनले विधिमा भएका प्रावधान र विधिले निर्दिष्ट गरेका प्रक्रिया पालना गर्नुपर्छ । कानुनको पूर्णतः कार्यान्वयन गर्नुपर्छ । स्वास्थ्यकर्मीलाई पूर्ण रूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार छ । आग्रह के मात्रै हो भने अरू कानुनहरू पनि छन् । चिकित्सकहरूले विरोधका कार्यक्रमहरू गरिरहनुभएको छ । हाम्रो विरोध कार्यक्रम सर्वसाधारणलाई पीडित र प्रताडित बनाउने गरी गरेको छ की छैन । त्यो हिसाबले संवेदनशील भइदिनुहुन आग्रह गर्छु । गृह मन्त्रालय सुरक्षा व्यवस्था गर्न तयार छ । वार्ता, संवाददरा हुनसक्ने दीर्घकालीन नीतिगत र संरचनागत प्रबन्धद्वारा हुने विषयलाई सडकमा आएर सेवा अवरुद्ध गर्न जरुरी छैन । तपाईँहरू सडकमा आएको ६÷८ घण्टा भित्र तपाईँहरूले राखेको बटमलाईन कार्यान्वयनमा गएको छ ।’
समितिको बैठकमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मी सम्बन्धी ऐन अपूरो भएको बताए । उनले चिकित्सकहरूमाथि दिनहुँ हातपात भएको भन्दै राजनीतिक दलको दृढ सङ्कल्प अहिलेको आवश्यकता रहेको बताए । स्वास्थ्यका समस्याहरू सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएका फाइलहरू अर्थ मन्त्रालयमा चाङ लागेर बसेको बताए ।
उनले स्वास्थ्यकर्मीको दरबन्दी नथपिने, चिकित्सकहरूले अतिरिक्त समय काम गरेको भत्ता नपाउने, चिकित्सकहरूले कति घण्टा काम गर्ने भन्ने नतोकिएको लगायतका समस्या रहेको बताए । डा।कार्कीले हरेक घटनामा डाक्टरलाई कुटिने गरिएको भन्दै लापरबाही भन्ने शब्द परिवर्तन हुनुपर्ने बताए ।
उनले भने ‘कारबाही नगर्दा मनोबल बढेको छ । स्वास्थ्यमा निकै कम बजेट विनियोजन भयो । डाक्टरले मुस्कानसहितको सेवा दिएन । ७२ घण्टा काम गरेर दुई सय जना बिरामी हेरेर मुस्कान सहितको सेवा कसरी दिने । पहिलो दृढ राजनीतिक दलको सङ्कल्प चाहिएको छ । चिकित्सकमाथि हुने दुर्व्यवहारमा राजनीतिक दलका कार्यकर्ताहरूको संलग्न रहेको देखिन्छ । लेनदेन भएको घटनामा राज्यले रोक्नुपर्ने । अहिलेको स्वास्थ्यकर्मी ऐन अपुरो छ । पोखरा घटनामा डाक्टरलाई लाठी हानेर जेलमा हालिएको छ । हामीलाई ढुक्कले उपचार गर्न दिनुहोस् । राज्यले हामीलाई गलत व्यवहार गरिरहेको छ । स्वास्थ्य मन्त्रालयबाट अर्थ मन्त्रालयमा फाईलको चाङ मात्रै बढ्यो । चिकित्सकहरूले अतिरिक्त समय काम गरेको भत्ता पाउन सकेको छैन । चिकित्सकहरूले कति घण्टा काम गर्ने भन्ने पनि तोकिएको छैन । प्रहरीले कुट्नेको नाम समेत सार्वजनिक गर्दैन । समाजको स्वास्थ्य सम्बन्धी सचेतना बढाउनै पर्छ । मेडिकल प्राक्टिस शतप्रतिशत हुँदैन । भवितव्य हुन्छ नै । अस्पतालमा भएको मृत्युलाई स्विकार्नुपर्छ । हरेक कुरामा डाक्टरलाई कुटिन्छ । लापरबाही भन्ने शब्द छ के । यसलाई पनि चेन्ज गर्नुपर्यो । मृत्यु भएपछि पीडित, कुटाई खाने पीडक । स्वास्थ्यकर्मीको ऐन अपुरो नै छ । स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुँदा सिधा जेल जानुपर्ने व्यवस्था हुनुपर्छ । मित्र राष्ट्र भारतमा डाक्टरलाई अभद्र व्यवहार गरे दुई वर्ष जेल । वा, र केही छैन ।’
उनले मेडिकल प्राक्टिस शतप्रतिशत नहुने बताए ।








