राष्ट्रघाती गठबन्धन सरकार टिकी रहनु दुर्भाग्य हो : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलको समर्थनमा बनेको सरकारलाई अपराधी र तस्करलाई संरक्षण गर्ने सरकार भएको आरोप लगाएका छन् ।
पार्टीको पहिलो प्रदेश महाधिवेशनलाई सम्बोधनका लागि शुक्रवार विराटनगर आइपुगेका अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।
‘गठबन्धन सरकार अपराधी, तस्करको संरक्षकको रूपमा देखिएको र यसले नेपाली जनता र राष्ट्रलाई केही पनि हुन सकेन,’ उनले भने, ‘त्यसैले यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’
अध्यक्ष ओलीले सरकारमा जाने एमालेको चाहना नभएको र अहिलेको सरकारको उपयुक्त विकल्प पनि नदेखिएको बताएका हुन् ।
अध्यक्ष ओलीले पार्टीको प्रदेश महाधिवेशनमा सके सहमति गर्नु र नसके स्वास्थ प्रतिस्पर्धा गर्न नेता, कार्यकर्ता तथा प्रतिनिधिलाई निर्देशन दिएको बताएका छन् । तर सञ्चार क्षेत्रले अहिले आफूले भनेको कार्यकर्ताले मानेनन् भन्ने जबरजस्ती सन्देश दिन खोजेको आरोप समेत लगाए ।
कोशी प्रदेशमा स्थिरता आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ थियो । ‘प्रादेशिक हिसाबमा पनि अहिले मध्यावधिमा जानु हुँदैन, त्यो अवस्था छैन,’ उनले भने, ‘प्रदेशलाई मध्यावधितर्फ धकेल्ने कुरा बुद्धिमानीपूर्ण हुँदैन र धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।’








