कम्युनिष्ट पार्टीलाई एक ढिक्का बनाउन महिलाले हस्तक्षेप गर्नुपर्छ : स्नेहलता वन श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीकी संस्थापक सदस्य स्नेहलता वन श्रेष्ठले कम्युष्टि पार्टीहरू एक ढिक्का हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।
सोमबार आफ्नो ९२ औँ जन्मदिन मनाउन पुगेका नेतृहरूसँग उनले कम्युनिष्टहरु फुटेकोमा चिन्ता व्यक्त गरेकी हुन् । २००४ सालमा नागरिक अधिकारका लागि जुलुस निकाल्दा २ हप्ता कष्टडीमा समेत परेकी नेतृ स्नेहलताले विगतको कम्युनिष्ट आन्दोलनको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरू फुट्दा आफू धेरै दुःखी भएको बताइन् ।
उनले कम्युनिष्ट एकताका लागि अग्रणी भूमिका निभाउन नेतृहरूलाई सुझाव दिइन् । उनले राष्ट्रियताको सवालमा दिल्ली सम्झौताको विरोध गर्दै २००८ सालमा एयरपोर्टमा कालो झण्डा देखाउँदा महिलाहरू गिरफ्तार भएको घटनाको सम्झनामा एअरपोर्टमा महिला गेट बनाउनु पर्ने माग गरिन् ।
उनले भनिन् ‘अहिले आएर सबै कम्युनिष्टहरु सिसा फुटेको जस्तो फुटेकोमा मलाई धेरै धेरै दुःख लागेको छ । भगवतीले सङ्घर्ष गरेर देवतालाई ठाउँ ठाउँमा राखेको जस्तै हामी महिलाले पनि त्यस्तै सङ्घर्ष गरेर कम्युनिष्टको एकता गर्नुपर्छ ।’
नेपालको कम्युनिष्ट आन्दोलनकी अग्रणी व्यक्तित्वको रूपमा परिचित नेतृ स्नेहलताले नेपालका कम्युनिष्टहरु एक भएर अघि बढेमात्रै देश विकास हुन सम्भव धारणा राखिन् ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, अर्थ तथा योजना विभागकी प्रमुख विन्दा पाण्डे, सांसद विद्या भट्टराई लगायत अखिल नेपाल महिला संघका पदाधिकारी उनलाई जन्म दिनको शुभकामना व्यक्त गर्न उनको निवास ललितपुर पुगेकी थिइन् । सो अवसरमा अनेम संघले उनलाई सम्मान पनि गरेको थियो ।








