नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता

काठमाडौँ । नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बिचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आज सोमबार दुई संस्था बिच नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट संघका अध्यक्ष प्रा.डा चेतराज पन्त र महासचिव भरतबहादुर चन्द तथा कतार च्यारिटीका तर्फबाट कन्ट्री डाईरेक्टर मोहम्मद बकास र कार्यक्रम व्यवस्थापक इरसाद अलि शेखले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बाँके, कपिलवस्तु, रौतहट, सुनसरी र सर्लाही जिल्लाहरूका ग्रामीण क्षेत्रका नागरिकहरूलाई लक्षित गरी विभिन्न आँखा शिविरहरूको आयोजना गरी २ हजार २ सय मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिनेछ । आँखा शिविर तथा शल्यक्रियाका लागि आर्थिक सहयोग कतार च्यारिटीले गर्नेछ भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघले गर्नेछ ।

उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक डा।शैलेशकुमार मिश्रले कतार च्यारिटी जस्तै दातृ निकायहरूको सहयोग र सहकार्यमा सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण हुने विश्वास व्यक्त गरे ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै कतार च्यारिटीका कन्ट्री डाईरेक्टर मोहम्मद बकासले च्यारिटीले विगत ५ वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी र जीविकोपार्जन क्षेत्रमा कार्य गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा मोतियाबिन्दुको सर्जरी मार्फत दृष्टि पुनर्स्थापनाका लागि नेत्रज्योति सङ्घसँग यो सम्झौता गरिएको र यसबाट २ हजार भन्दा बढी बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए ।

अहिले पनि नेपालको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय भएकाले विभिन्न देशका नागरिकहरू नेपालमा आँखा उपचार गराउन आइरहेको भन्दै संघका महासचिव भरतबहादुर चन्दले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य सहित संघले आफ्ना कार्यक्रमहरू अगाडी बढाइरहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रा।डा चेतराज पन्तले कतार च्यारिटीसंगको सहकार्यले आर्थिक अभावकै कारण आँखा उपचारबाट वञ्चित नागरिकहरूले निःशुल्क आँखा उपचार प्राप्त गर्न सक्ने विश्वास समेत व्यक्त गरे ।

संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ भने विभिन्न दातृ निकाय, नेपाल सरकार तथा विभिन्न स्थानीय तहहरुसंघको सहकार्यमा वार्षिक हजारौँ निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरहरू सञ्चालन गर्दै आइरहेको छ ।

त्यस्तै कतार च्यारिटीले ‘नेपाल एकीकृत विकास कार्यक्रम(एनआईडिपी)–२’ परियोजना अन्तर्गत नेपालका विभिन्न जिल्लाहरूमा स्थानीय साझेदारहरूको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । च्यारिटीले नेपालमा बिशेषगरी उत्पादनशीलता र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =