६० किलो सुन र भेपको ९ किलो सुन तस्करी गर्ने समूहबीच कनेक्सन भेटियो

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र विद्युतीय चुरोट ‘भेप’मा लुकाएर गरेको ९ किलो सुन तस्करी गर्ने समूहबिच ‘कनेक्सन’ देखिएको छ।
सीआईबीले गरिरहेको अनुसन्धानका क्रममा उनीहरु एउटै समूहको भएको हुन सक्ने देखिएको छ। यसअघि ९ किलो सुन तस्करी गर्ने समूह तस्करीको सुन विमानस्थल भन्सारमै रोकिएपछि भागेको थियो। उक्त समूहले देश छाडेपछि अनुसन्धान पूरा हुन सकेको थिएन।
तर अहिले राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन प्रकरणमा चिनियाँ तस्करहरु पक्राउ परेपछि यसअघिको तस्करी गर्ने समूहसँग पनि कनेक्सन रहेको देखिएको हो।
यसअघि ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सिआईबी’ले अनुसन्धान गरेको थियो ।
६० किलो सुनबारे अनुसन्धान गरिरहेका एकजना अधिकृतले दुईवटा तस्कर समूह बीच ‘कनेक्सन’ देखिएको रातोपाटीलाई बताए । भेपमा सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङ र ६० किलो सुनमा संलग्न चिनियाँबीच सम्पर्क भेटिएको छ ।
६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन् ।
यसअघि भारतमा भएको सुन तस्करीमा पनि उनीहरु संलग्न थिए। भारतमा पक्राउ परेर छुटिसकेपछि उनीहरुले नेपालमा तस्करी गर्न थालेको खुलेको छ।
भारतमा भएको दुईवटा अपरेशनमा नेपालमा अहिले पक्राउ परेका ३ जना चिनियाँ कारबाहीमा परेका थिए।
२०७९ पुस १० मा चिनियाँ नागरिकले दुबईबाट ल्याएको भेप विमानस्थल भन्सारका कर्मचारीले गायब गरेका थिए। उनीहरुसहित यसमा संलग्न केही नेपाली पक्राउ परेपनि नेपाली र चिनियाँ गरी केही पनि फरार छन्।
यो प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबु छोराको समेत नाम जोडिएको छ। सीआईबीले उनीहरुमाथीइ पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ।








