प्रदेशहरु खारेज हुँदैनन, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँछुः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताएका छन् ।

मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढने प्रयास आफूले गरिरहेको बताए ।

आईतवार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास समेत व्यक्त गरे ।

ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकीलको कार्यालयमा बुझाएको स्मरण गर्दै उजले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रुपमा लिएको पनि बताए ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले सो भवनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र प्रश्तुत गरेको भन्दै त्यसमा सबैले गर्वको महशुस गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रदेशहरु र स्थानीय जनप्रतिनिधिहरुले पनि आ–आफ्नो कार्यक्षेत्र भित्र सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई अगाडि बढाउने छन भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । यो पटक हामीलाई स्थिरता, स्थायित्वको साथै समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामी नेपालीहरुको अगाडि छैन । मैले यो पक्षमा एउटा समझदारी बनाएर, राष्ट्रिय सहमति बनाएर अगाडि जाने प्रयास गर्दै आएको छु । आजको दिन, कस्तो दिन पनि परेको महशुस गरे भने ललिता निवास प्रकरणको सबै अभियोजन आज सरकारी वकील कार्यालयमा बुझाएको दिन परेको छ । सुशासनको पक्षमा हामी एक कदम अगाडि बढने दिन पनि भन्न सकिन्छ । र, अन्य कुराहरु पनि त्यसरी अगाडि जानेछन् । र, हामी बिस्तारैबिस्तारै नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र सिस्टममा चल्ने, विधिविधानमा चल्ने राष्ट्रको रुपमा विश्वसामु चिनाउनेछौं भनेर पनि म विश्वास गर्छु । यी भवनहरुमा विदेशी पाहुँना आउँदा, जनप्रतिनिधिहरु आउँदा कहीँ न कहीँ हाम्रो राज्य, हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र पनि यी भवनहरु, यी भवनमा बस्ने प्रदेश प्रमुखहरुको अनुहारमा, कामबारवाहीमा, मुख्यमन्त्रीहरुको कामकारबाही र अनुहारहरुमा संघीय लोकतान्त्रिक गणतन्त्रको चित्र देख्नेछन् । सबैले गर्व महशुस गर्ने वातावरण बन्नेछ ।’

प्रधानमन्त्री दाहालले प्रदेशको कामकारवाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उपयोगी हुने विश्वास व्यक्त गरे ।

संघीयतामाथि प्रश्न उठाउनेहरुलाई पनि सो निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उहाँले संघीयताको संस्थागत विकासमा पनि यसले योगदान पु¥याएको बताए ।

उनले भने– ‘यो हाम्रा प्रदेशहरुलाई प्रभावकारी बनाउने कुरासँग सम्बन्धित छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा बेला मौकामा केही मानिसहरुले प्रश्न उठाउने गर्छन् । त्यसको एउटा जवाफ जस्तो पनि लागेको छ मलाई आज । यो भवनहरुको उद्घाटन गर्दैगर्दा, साँचो हस्तान्तरण गर्दैगर्दा, प्रदेश प्रमुख जी र मुख्यमन्त्रीजीहरुलाई मैले एक कदम भएपनि संघीयको संस्थागत गर्ने क्रममा चाहीँ यो हामी अगाडि बढेका छौ भन्ने मैले महशुस गरेको छु । अब यहाँ रहेर प्रदेश प्रमुखजीहरुले पनि र मुख्यमन्त्रीजीहरुले पनि आफ्नो जिम्मेवारी र कार्यभारालाई अझ प्रभावकारी ढंगले, अझ सफलताका साथ सम्पन्न गर्नुहुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले संघीय मन्त्रीहरुको निवासको कामले पनि केही महिनाभित्रै पूर्णता पाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *