सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा डिजिटल बीमाको शुभारम्भ

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपिआईएल–डिआइजिआइ प्रणाली प्रचलनमा ल्याएको छ ।
सरल र सहज बिमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बिमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपिआईएल–डिआइजिआइको प्रयोगले बिमितहरुले सहज रूपमा अनलाइनबाटै वीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकम सम्मको बिमा दाबी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष श्री सुरेशलाल श्रेष्ठद्धारा संयुक्त रूपमा एक समारोहका बिच एसपिआईएल–डिआइजिआइ प्रणालीको शुभारम्भ गरियो । शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सरहना गर्दै यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न शुभकामना दिए ।
कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतीय माध्यमबाट प्रभावकारी बिमा सेवा प्रदान गर्न क्रियाशील रहेको बताउँदै भने ‘प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रूपमा बिमा सेवालाई प्रविधियुक्त बनाउने हाम्रो लक्ष्य अनुरूप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउने तर्फ थप क्रियाशील रहनेछु ’प्रतिबद्धता व्यक्त गरे ।
एसपिआईएल–डिआइजिआइ डिजिटल प्रणाली भएको हुँदा अनलाइन भुक्तानी मार्फत कम्पनीमा बिमा शुल्क भुक्तानी गरी भौतिक रूपमा उपस्थिति विना विमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको बिमा दाबी फर्छयौट गरी भुक्तानी लिन र बिमा दाबीको अवस्थाको बारेमा जानकारी समेत लिन सक्नेछन् । यसवाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बिमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।








