कागबेनी बाढीले करिब १ अर्ब बराबरको क्षति

ढोरपाटन । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कअनुसार बाढीले कागबेनीमा करिब रु एक अर्बको क्षति पुर्याएकोे छ । भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुर्याएको थियो । बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुर्याएको छ ।

गाउँपालिकाको कृषि शाखाको तथ्याङ्कअनुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूल बोट क्षति पुगेको छ । बाढीले कृषकको ११ रोपनी तीन कठ्ठा बढीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए । उनका अनुसार करिब एक सय ६९ भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ ।

बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले बताए । उनीहरूको रु ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको उनको भनाइ छ । कृषि बाढीले स्याउलगायतका कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ । करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए ।

गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलो बाढीले क्षति गरेको छ । उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलोसमेत बाढीले बगाएको छ । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौवटा हाते ट्र्याकटरसमेत बाढीले बगाएको उनी बताउँछन् । बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उपकरण र सिँचाइ कुलो बगाउँदा करिब रु एक करोड बढीको क्षति भएको धामीको भनाइ छ ।

उनी भन्छन् ‘यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश कृषकको स्याउ बगैँचामा ठूलो क्षति पुर्याएको छ, हामीले धेरै दिन लगाएर क्षति विवरण सङ्कलन गरेका छौँ, कोहीको बगैँचा बगाएको छ, कोहीको स्याउ र नास्पातीको बोट बगाएको छ, सिँचाइ कुलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ ।’

बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ । पशुचौपाया बगाउँदा करिब रु ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिइन् । बाढीले २३ गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताइन् । यसबाट करिब रु ५० लाख बढीको नोक्सानी भएको उनको भनाई छ ।

बाढीले नगद, सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख २५ क्षति गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी रु २१ करोड दुई लाख बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । पचास ५० घरमा रु ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइसवटा घर पूर्ण र पाँचवटा घरमा आंशिक क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =